अमेरिका । अर्बपति तथा स्पेस एक्स कम्पनीका प्रमुख कार्यकारी इलोन मस्कले अन्तरिक्षमा आफ्नो कम्पनीका स्याटेलाइटले चीनको अन्तरिक्ष स्टेसनलाई खतरामा पारेको भन्ने चिनियाँ दाबीको खण्डन गरेका छन् ।
बीबीसीका अनुसार मस्कले आफ्ना स्याटेलाइटले अन्तरिक्षमा धेरै स्थान लिएको चिनियाँ दाबीको पनि उनले खण्डन गरेका छन् । फाइनान्सियल टाइम्ससँग मस्कले भनेका छन्, ‘दशौँ अर्ब स्याटेलाइट पृथ्वीनजिकैको कक्षमा अट्न सक्छन् ।’ युरोपेली अन्तरिक्ष संस्था (ईएसए)का प्रमुखले मस्कले उदाउँदो व्यावसायिक अन्तरिक्ष उद्योगको नियम बनाइरहेको दाबीपछि मस्कको यस्तो भनाइ आएको हो ।
यही हप्ता चीनले आफ्नो अन्तरिक्ष स्टेसन स्टारलिंक स्याटेलाइटबाट बचाउन बलजफ्ती अन्यत्र सार्नुपरेको उजुरी राष्ट्रसंघमा गरेको थियो ।मस्कले अन्तर्वार्तामा भनेका छन्, ‘अन्तरिक्ष व्यापक ठूलो छ र स्याटेलाइटहरु त एकदमै साना छन् ।’ उनले आफ्ना स्याटेलाइटले प्रतिस्पर्धीको स्याटेलाइट प्रवेशलाई अवरोध गरेको भन्ने आरोपको पनि उनले खण्डन गरेका छन् । उनले अरुलाई अवरोध पनि नगरेको र अब पनि नगर्ने बताए ।
केही हजार स्याटेलाइट अन्तरिक्षमा हुनु ठूलो कुरा नभएको उनको भनाइ छ । ईएसएका महानिर्देशक जोसेफ आस्कब्याकरले स्टारलिंकले हजारौँ स्याटेलाइट पठाउँदा प्रतिस्पर्धीलाई ठाउँ नै नहुने दाबी यही महिना गरेका थिए । अन्य विज्ञहरुले पनि स्याटेलाइट धेरै हुँदा एकअर्कामा ठोक्किनबाट जोगिन धेरै दूरी हुनुपर्ने बताएका थिए । कतिपय वैज्ञानिकहरुले समेत यसअघि नै यसबारे ध्यानाकर्षण गरेका थिए । उनीहरुले अन्तरिक्षमा स्याटेलाइटहरु जुध्ने सम्भावना रहेकोमा चिन्ता व्यक्त गरेका थिए । उनीहरुले विश्वका सरकारहरुलाई पृथ्वीलाई घुमिरहेका अनुमानित ३० हजार स्याटेलाइटबारे सूचना दिन पनि माग गरेका थिए ।
चीनले मस्कको कम्पनीबारे उजुरी गरेपछि चिनियाँ सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ । चिनियाँ स्टेसनसँग अन्तरिक्षमा स्टारलिंकका स्याटेलाइटसँग कम्तीमा दुईपटक ठोक्किनलागेको बेइजिङले दाबी गरेको छ । उक्त घटना जुलाई १ र अक्टोबर २१ मा भएको चीनले गरेको उजुरीमा उल्लेख छ । सुरक्षाका लागि चाइना स्पेस स्टेसनले आवश्यक कार्य गर्नुपरेको उसको भनाइ छ ।