काठमाडौं । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारबाट फर्केका ३२ हजारभन्दा बढीलाई उद्यमशीलता प्रवद्र्धनका लागि सीपमूलक तालिम सञ्चालन र लाभग्राहीका लागि प्राविधिक तथा वित्तीय सहयोग गर्ने भएको छ । जसलाई पुनः एकीकरण कार्यक्रम भनिएको छ । यो कार्यक्रम विभिन्न ८१ वटा स्थानीय तहमा सञ्चालन गर्ने तयारी बोर्डको छ ।
बोर्ड सचिवालयले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार वैदेशिक रोजगारबाट फर्केका व्यक्तिका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्ने तय भएअनुरूप ३२ हजार ६० जना लक्षित लाभग्राही सदस्यको लागि १३ करोड ६८ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । यो कार्यक्रम ८१ वटा स्थानीय तहमा सञ्चालन हुने बोर्डका निर्देशक रमा भट्टराईले जानकारी दिइन् । कार्यक्रममा आबद्ध सदस्यहरूलाई औजार सामग्री सहयोग र उद्यमशीलता प्रवद्र्धन जीवनोपयोगी वस्तु सामग्री सहयोग तथा पशुपन्छी बीमा समेतको सुविधा प्रदान गर्ने उनले बताइन् ।
यो कार्यक्रम बागमती प्रदेशका २१ पालिका, मधेस प्रदेशका १६ पालिका, कोशी प्रदेशका १३, गण्डकी प्रदेशका १४, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १८ पालिकाले बोर्डसँग सम्झौता गरी कार्यक्रम अगाडि बढाइएको निर्देशक भट्टराइले बताइन् । बोर्डले लक्षित सदस्यको संख्या स्थानीय तहअनुसार ६०, ४०, ३० र २० को अनुपातमा राखेको छ । तहअनुसार बजेटको बाँडफाँट सबैभन्दा बढी २५ लाख ८० हजार रुपैयाँ, २४ लाख रुपैयाँ, १७ लाख २० हजार रुपैयाँ र आठ लाख ६० हजार रुपैयाँका दरले गरेको छ । जुन–जुन स्थानीय तहबाट सबैभन्दा बढी संख्यामा वैदेशिक रोजगारीमा जाने गरेका छन् तिनीहरूलाई चयन गरिएको भट्टराईले जानकारी दिइन् । उनले भनिन्, ‘यसमा तराई र पहाड अर्थात् मकावनपुर, नुवाकोट, धादिङ, चितवन, पर्सा, धनुषा, बारालगायतका क्षेत्रका स्थानीय तह छनौट गरिएको छ ।’
वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि पालिकास्तरमै उद्यमी बनाउन विभिन्न पालिकासँग लागत साझेदारी गर्दै पुनः एकीकरण कार्यक्रम सुरुआत गरेको बोर्डले जनाएको छ । उक्त कार्यक्रमबाट वैदेशिक रोजगारीबाट फर्किएका युवा लाभान्वित हुने बोर्डको भनाइ छ । पुनः एकीकरण कार्यक्रममा लागि वैदेशिक रोजगार बोर्डले चालू आर्थिक वर्षमा १५ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको पुनः एकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७९ मन्त्रिपरिषद्बाट २०७९ असार २१ गते स्वीकृत गरेको निर्देशिकाको प्रस्तावनामा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले वैदेशिक रोजगारीको क्रममा आर्जन गरेको पुँजी, सीप, प्रविधि र अनुभव नेपालमा नै उद्यमशीलताको विकास तथा सीपको प्रवद्र्धनमा उपयोग गराई सामाजिक तथा आर्थिक पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । यसका साथै सहजीकरण कार्यक्रम, रोजगारीमा आबद्धता गरिने, उद्यमशीलता प्रवर्द्धन हुनेलगायतका कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । सोहीअनुरूप हाल कार्यक्रमहरू सञ्चालन भएको बताइएको छ ।