काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र प्रोफेसनल कम्प्युटर सिस्टम प्रालि (पीसीएस)बीच परीक्षा व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नति तथा विकास गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशी र पीसीएसका प्रमुख कार्यकारी अधिकृत मोहम्मद इल्ताफ हुसैन अन्सारीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार पीसीएसले १८ महिनाभित्र परीक्षा नियन्त्रण कार्यालयको परीक्षा व्यवस्थापन सूचना प्रणाली अद्यावधिक गर्ने काम सम्पन्न गर्नेछ । प्रणालीको विकासपछि विद्यार्थीलाई घरबाटै सर्टिफिकेट लिन र शुल्क भुक्तानी गर्न सहज हुने विश्वास गरिएको छ ।