गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तीनवटै तहका सरकारको अन्तरसम्बन्धले मात्र अपेक्षित लक्ष्य हासिल गर्न सकिने बताएका छन् ।
पोखरामा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री बैठकका सहभागीलाई स्वागत गर्दै उनले अन्तरसम्बन्धले सुशासन, विकास र समृद्धि प्राप्तीका लागि तीनवटै तहका सरकारको साझा प्रयास परिचालनको माग गर्ने बताए ।
उनले सङ्घीयताविरुद्ध जनमत निर्माण गर्ने जोडतोडका साथ प्रयास भइरहेको बताउँदै संविधानसभाबाट निर्मित संविधानबाट प्राप्त उपलब्धि सङ्घीयता, गणतन्त्र, समावेशितालाई आत्मसात् गर्न नसकेका शक्तिको प्रहारको निशानामा प्रदेश तह रहेको आभाष भएको बताए ।
अन्तरप्रदेश मुख्यमन्त्री बैठक सातै प्रदेशबीच अनुभव आदानप्रदान गर्ने, सबल पक्षलाई थप मजबुत बनाउँदै संस्थागत गर्ने र दुर्बल पक्षलाई न्यूनीकरण गर्दै प्रदेशलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको उनले बताए । प्रदेश सरकार स्थापनाको छैटौँ वर्ष एवं दोस्रो कार्यकालसम्म आइपुग्दा प्रदेशको नामकरण÷राजधानी तोकिनुका साथै प्रदेश सञ्चालनका लागि कानुन निर्माण भएको उनले बताए ।
सङ्घीय कानुन निर्माण नभएका कारण प्रदेश कानुन निर्माण हुन नसकेको भन्दै उनले संविधानतः प्राप्त एकल अधिकारका विषय कार्यान्वयनमा समस्या देखिएको बताए । कर्मचारी सरुवामा समन्वय नहुँदा आएका जटिलतालगायत विषयमा छलफल भई समाधानका उपाय पहिल्याइ सङ्घ र प्रदेश सरकारबीचको सहकार्यलाई समन्वयकारी बनाउनुपर्ने उनले बताए ।
प्रदेश कानुनमा एकरुपता कायम गर्दै अन्तरप्रदेश कार्यक्रम तथा आयोजना सञ्चालन गर्ने विषयमा सहकार्य जरुरी रहेको बताउँदै उनले प्रदेशको औचित्यबारे साझा धारणा निर्माण गर्न यो बैठक सफल हुने विश्वास लिइएको बताए ।
कानुनी, प्रशासनिक र वित्तीय सङ्घीयतालाई प्रभावकारी बनाउनेतर्फ हाम्रो ध्यान आकृष्ट हुन जरुरी रहेको बताउँदै उनले यसमा सङ्घीय सरकारले समन्वयका लागि नेतृत्वसहित मार्गदर्शन गर्नुपर्ने र सबै प्रदेश सरकार हातेमालो गर्नको लागि तयार रहेको र रहनुपर्नेमा जोड दिए ।