काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सीके राउत र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आइतबार बिहान भएको वार्ता सरकारलाई दिएको समर्थन कायम राख्ने या फिर्ता लिने भन्नेमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।
आफ्नै पार्टीबाट एक मन्त्रीलाई फिर्ता बोलाएर भए पनि सरकारमा समेट्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएका छन् । पछिल्लो समय जनमतलाई सरकारमा समेट्न ढिला गरेकाले दाहालसँग सीके राउत रुष्ट रहँदै आएका छन् । दाहालले समर्थन फिर्ता नलिन राउतलाई आग्रह गरेका थिए ।
प्रधानमन्त्री दाहालले जनमतलाई सरकारमा समेट्ने आश्वासन दिएका छन् । आगामी आर्थिक वर्षको बजेटको विपक्षमा उभिएपछि जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। यदि जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्रीले तेस्रो पटक विश्वासको मत लिनुपर्ने देखिएको छ ।