काठमाडौं । असार ४ मा घोषणा भएको संसद बाहिर रहेको दल नेकपासहित सत्तारुढ तीनवटा दलको सहभागितामा समाजवादी मोर्चा घोषणा भएको दुई हप्ता बितिसक्दा पनि मोर्चाको बैठक बस्न सकेको छैन ।
जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठले घटक दलका प्रमुख नेताको व्यस्तताले बैठक मिति तय हुन नसकेको बताए । नेता श्रेष्ठले भने, 'विप्लवजी पार्टीको कामले उपत्यका बाहिर जानु भएकाले बैठक बस्न सकेन ।’ विप्लवको दलका नेताहरु काठमाडौं फर्केपछि बैठक बोलाउन सकिने उनले बताए ।
असार १० देखि १२ सम्म जसपाको विधान महाधिवेशन चलेको हुँदा त्यसैको तयारीका कारण उपेन्द्र यादवलगायत नेताहरू व्यस्त रहे । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग ७ असारमा भेटेर मोर्चा र पार्टी एकताका विषयमा छलफल गरेका थिए ।
जसपाको विधान महाधिवेशन सम्पन्न भएलगत्तै बैठक बस्ने तयारी भए पनि विप्लव बाहिर रहेका कारण बैठकमा केही ढिला भएको एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले बताए । श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रम र दक्षिण एसियाली कम्युनिस्ट तथा वामपन्थी पार्टीहरुको बैठक र सम्मेलनमा भाग लिन एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सोमबार श्रीलंका गएका छन् ।
मोर्चा घोषणा भएलगत्तै आफूहरूले बैठक बसेर कार्यविधिको विषयमा छलफल गरौँ भनेको भए पनि अन्य पार्टीका नेताहरूको व्यस्तताले नभ्याइएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए । 'सबै व्यस्त भएपछि हामीले पनि हाम्रो असार १५ देखि उत्पादनमा जोडिने पार्टीको कार्यक्रमलाई उद्घाटन गर्नुपर्ने भएकाले बाहिर गयौं,’ उनले भने । आफूहरू काठमाडौँ फर्किन लागेको भए पनि एकीकृत समाजवादी अध्यक्ष नेपाल मुलुक बाहिर भएकाले तत्काल बैठक बस्ने संभावना नरहेको उनले बताए ।