खलङ्गा । शैल्यशिखर नगरपालिका–६ पनेबाज क्षेत्रमा वर्षासँगै आएको बाढी र पहिराका कारण महाकाली लोकमार्ग अवरुद्ध भएको छ । पहिरो खस्दा महाकाली लोकमार्ग अन्तर्गतको गोकुलेश्वर–खलङ्गा सडक क्षेत्र बन्द भएको हो ।
खलङ्गाबाट महेन्द्रनगर–काठमाडौँका लागि छुटेका बस सोमबार रातिदेखि सुरु भएको वर्षासँगै ठाउँ–ठाउँमा खसेको पहिराले सडक अवरुद्ध भएको हुँदा बाटोमै रोकिएका छन् ।
सडक अवरुद्ध भएपछि छोटो तथा लामो दूरीका सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन् । पानी पर्दा बेला–बेलामा महाकाली लोकमार्गअन्तर्गत गोकुलेबाट पनेबाज–ऐरीछानासम्म सडक अवरुद्ध हुने गरेको छ ।
पहिरो सफा गर्न बिहानैदेखि डिभिजन सडक बैतडी पाटनको लोडरले प्रयास गरिरहेको भए पनि लगातार परिरहेको वर्षाका कारण अवरुद्ध लोकमार्ग खुलाउन समस्या भएको सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिए । महेन्द्रनगर, धनगढीबाट खलङ्गाका लागि छुटेका रात्रिबससमेत बाटोमै रोकिएका कारण यात्रु समस्यामा परेका छन् ।