चितवन । तीन महिनादेखिको तलब खान नपाएको भन्दै चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले बुधबार केहीबेर प्रशासन घेराउ गरेका छन् ।
कार्यकारी निर्देशक नियुक्ति हुन नसक्दा अस्पतालमा समस्या देखिनुका साथै कर्मचारीले वैशाखदेखिको तलब खान नपाएको बताएका छन् । फार्मेसीमा पनि औषधिको अभाव हुन थालेको छ ।
भागबन्डाका कारण बोर्ड सदस्यहरुको नियुक्ति नभएपछि कार्यकारी निर्देशक नियुक्ति हुन सकेको छैन । क्यान्सर अस्पतालको बोर्ड सदस्यमा ६ जना खाली छ । नियुक्ति गर्ने ६ जनाको नाम स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन् । तर, प्रचण्डले स्वास्थ्यमन्त्रीले बुझाएको नाममा चित्त नबुझाएका कारण भागबन्डा हुन सकेको छैन ।
मन्त्रीले बुझाएको लिष्टमा एक जनामात्रै माओवादी निकटका बाँकी कांग्रेस निकटका व्यक्ति भएको सा्रोतले जनाएको छ । अस्पतालको अध्यक्ष माओवादी निकटका डा. विजय न्यौपाने नियुक्त भैसकेकोले कार्यकारी निर्देशक कांग्रेसले पाउनुपर्ने दाबी छ । कांग्रेसबाट डा. विजय आचार्य र डा. शिवजी पौडेल कार्यकारी निर्देशक बन्ने दौडमा छन् भने माओवादीबाट डा. कृष्णसागर शर्माको दाबी छ ।