काठमाडौं । नेकपा एमालेले दिउँसो १ बजेको बैठक सुरु हुनेवित्तिकै प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर बिहीबार पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । बैठकमा प्रधानमन्त्रीले मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएकाले राजीनामा नदिएसम्म सदन चल्न नदिने एमाले सांसद भैरवसुन्दर श्रेष्ठले बताए ।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले बुधबार पनि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन अवरुद्ध गरेको थियो । भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचनका क्रममा प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्दै गत सोमबार प्रधानमन्त्री प्रचण्डले अभिव्यक्ति दिएको थिए ।
प्रचण्डले प्रधानमन्त्री बन्न भारतको निर्देशन चाहिन्छ, भारतको सल्लाह सुझाव चाहिन्छ भन्ने आशयको अभिव्यक्ति दिएका हुनाले उनी प्रधानमन्त्री पदमा बस्न अयोग्य भएको एमाले नेता श्रेष्ठले दाबी गरे ।
‘सदनले बनाउने भनेको प्रधानमन्त्री दिल्लीको आदेश र निर्देशनमा बन्दो रहेछ भन्ने आज सामाजिक सञ्जालमा चर्चा भएको छ । यसले हामी सबै नेपालीको शीर निहुरेको छ’ उनले भने । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले बैठक अवरुद्धपछि शुक्रबार १२ बजेर २९ मिनेटमा बैठक बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित गरेका छन् ।