काठमाडौं । वर्तमान सरकारलाई जनताको पूर्ण समर्थन भएकाले सरकार ढल्ने कुनै सम्भावना नरहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छिन् ।
सरकारले राम्रो काम गरिरहेकाले सरकार ढल्ने औचित्य र आवश्यकता नभएको भन्दै शुक्रबार प्रेस सेन्टर नेपाल काठमाडौँ शाखाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा शर्माले भनिन ।
मन्त्री शर्माले भनिन, “बाहिर कहाँ के चलिरहेको छ, हामीलाई थाहा भएन । सरकार पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्न पछि पर्ने छैन । राम्रो काम गर्दागर्दै सरकार ढल्छ भने पनि हामीलाई आपत्ति छैन ।”
मन्त्री शर्माले सदनको गतिरोधका कारण मिटरब्याज पीडितलाई न्याय दिन ल्याइएको प्रतिस्थापन विधेयकजस्ता महत्त्वपूर्ण र संवेदनशील विषयलाई अघि बढाउन नपाइएको उनको भनाइ थियो ।
मन्त्री शर्माले देश र जनतालाई साक्षी राखेर म देशका लागि केही गर्छु भनेर प्रधानमन्त्रीले भनिरहनुभएको छ, यस अवस्थामा सरकारलाई सहजताका साथ काम गर्न दिन संसद्ले सहयोग गर्नुपर्ने बताइन् ।