काठमाडौँ । संसदको जारी अवरोध खुलाउन आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एमालेसँग छलफल गर्ने निर्णय गरेको छ । एमालेले आइतबारको बैठक पनि अवरुद्ध पार्ने योजना बनाइरहेको सन्दर्भमा गठबन्धनले एमालेसँग वार्ता गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्रीले केही दिनअघि दिएको अभिव्यक्तिलाई लिएर एमालेले असंवैधानिक र गैरराजनीतिक अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्रीबाट राजीनामाको माग गरी एमालेले निरन्तर संसद अवरुद्ध पार्दै आएको छ ।
प्रमुख सचेतकहरूसँगको छलफलमा एमाले प्रधानमन्त्रीको राजीनामाबाट पछि नहटेपछि बैठक आइतबार १ बजे बस्नेगरी स्थगित भएको थियो । सभामुख देवराज घिमिरेले यो विचमा दलहरुबीच सहमति जुटाउन आग्रह गरेपनि कुनै प्रगति भएको छैन । एमालेसँग सिंहदरबारमा आजै गठबन्धनले छलफल गर्ने तयारी गरेको छ ।