राजेन्द्र सिंहद्वारा लिखित पुस्तक ‘इन्ट्रोडक्सन टु टेक्सटाइल केमिस्ट्री’ विमोचन भएको छ । नमुना कलेज अफ फेसन टेक्नोलोजीमा सिंहले लेखेको पुस्तक विमोचन भएको हो । सिंह सोही कलेजको टेक्स्टाइल, गार्मेन्ट टेक्नोलोजी र मर्चेन्डाइजिङ विभागका प्रमुख हुन् । पुस्तकको विमोचन नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद सलाहुद्दिन नोमान चौधरी र कलेजका प्रधानाध्यापक ज्ञानी शोभा तुलाधरले गरेका हुन् ।
पुस्तक नेपालको टेक्सटाइल शिक्षा र उद्योगमा कोशेढुंगा सावित हुने सहभागीहरूले बताए । पुस्तकले विद्यार्थीको भविष्य र देशको कपडा उद्योगलाई थप मजबुद बनाउन सघाउने बताइएको छ । पुस्तकमा टेक्सटाइल क्षेत्रको जटिल प्रक्रिया र विधिको गहिरो विश्लेषण गरिएको छ । कार्यक्रममा राजदूत चौधरीले नेपालको कपडा उद्योगमा नवप्रवर्तन र प्रगतिलाई पुस्तकले जोड दिएकाले यस क्षेत्रका पेसेवरका लागि महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा लेखक राजेन्द्र सिंहले पुस्तक लेख्ने क्रममा भोगेका अनुभव र चुनौतीहरू सुनाएका थिए । कार्यक्रममा प्रतिष्ठित उद्योगी, व्यापारी, निकासीकर्ता, कलेजका सल्लाहकार समितिका सदस्यहरू, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूको उपस्थिति थियो ।
