काठमाडौं । बजेटबाट आर्थिक गतिविधि बढाउन नसकेका अर्थमन्त्री डा. प्रकाशशरण महतले खुकुलो मौद्रिक नीति बनाउनेबित्तिकै अर्थतन्त्र ठीक ठाउँमा पुग्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित ‘नेपालको आर्थिक अवस्था र आगामी मौद्रिक नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति खुकुलो बनाएर जानुपर्ने बताए । यसबारे आफूले राष्ट्र बैंकको नेतृत्वलाई स्पष्टसँग भनेको पनि बताए । उनले आगामी मौद्रिक नीतिमा बैंक दर र नीतिगत दरमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले मौद्रिक नीतिको प्रयोग समयसापेक्ष हुनुपर्ने पक्षमा आफू रहेको बताए ।
राष्ट्र बैंकले साउन पहिलो साता आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । गतसाता बिहीबार निजी क्षेत्रका तीन छाता संगठनले सुझाव दिन आयोेजना गरेको कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले समयसापेक्ष मौद्रिक नीति आउने बताएका थिए । तर, उनी आगामी आर्थिक वर्ष पनि ऋणको तीव्र विस्तार गर्ने पक्षमा देखिँदैनन् । खासगरी सेयरबजारजस्ता सट्टेबाजी बजारमा ठूलो कर्जा जान सक्नेतर्फ गभर्नर अधिकारी सजग बन्न खोजेको देखिन्छ । तर, अर्थमन्त्री महत भने मौद्रिक नीतिबाटै देशको आर्थिक गतिविधिमा तीव्रता दिन चाहन्छन् । बजेटमा खासै योजना दिन नसकेका अर्थमन्त्री महतले अहिले मौद्रिक नीतिको मुख ताकिरहेका छन् ।
‘अर्थतन्त्रलाई चलायमान बनाउन देशको मौद्रिक नीति महत्वपूर्ण पक्ष हो । यसको सञ्चालन गर्न हामीले राष्ट्र बैंकलाई जिम्मा लगाएका छौँ । अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले दिशानिर्देश गर्दै पनि आएको छ । कतिपय अवस्थामा कार्यान्वयन भएको छ, कतिपय अवस्थामा हुन बाकी छ’, अर्थमन्त्री महतले भने, ‘यद्यपि राष्ट्र बैंकले स्वयत्तरूपमा काम गरोस् र समग्र अर्थतन्त्रको परिवेश के छ र मौद्रिक नीतिले यसमा कसरी योगदान पु¥याउन सक्छ भन्ने कुरालाई मध्यनजर राखेर नीति आओस् भनेर नै राष्ट्र बैंकलाई एक तहको स्वायत्तता दिएको हो ।’
राष्ट्र बैंकबाट आउने मौद्रिक नीतिका बारेमा बेलाबखत सरकार र सरोकारवालाले प्रश्न उठाउने गरेको अर्थमन्त्री महतले बताए । ‘मौद्रिक नीति र वित्त नीति समन्वयमा जानुपर्छ, त्यसको एउटै लक्ष्य हुनुपर्छ’, उनले भने, ‘मौद्रिक नीति एउटा बाटोमा, वित्त नीति अर्को बाटोमा लियो भने यसले लक्षित उद्देश्य प्राप्त हुँदैन ।’
ब्याजदर अर्को महत्वपूर्ण पक्ष भएको उनले बताए । ‘कति ब्याजमा ऋण प्राप्त हुन्छ भन्ने कुराले लगानीको लागत निर्धारण गरेको हुन्छ’, उनले भने, ‘ऋण लिनेहरूले प्रतिफल प्राप्त नहुँदा ऋण तिर्न गाह्रो भइरहेको छ । बैंकमा तरलता हुँदाहुँदै पनि ब्याजदरको कारणले पुँजी प्रवाह हुन सकेको छैन । यद्यपि हाम्रा अर्थतन्त्रलाई चलायमान गर्नुपर्ने आवश्यकता छ । चलायमान बनाउनका लागि समस्या आइरहेको छ ।’
पुँजीगत खर्च हामीले भनेजति विनियोजन गर्न नसकिएको उनले बताए । अहिले मौद्रिक नीति थोरै खुकुलो बनाएर जाँदा हाम्रो अर्थतन्त्र चलायमान गराउन मद्दत पुग्ने महतको दाबी छ । ‘जति विनियोजन भएको छ, त्यसलाई पूरै खर्च गर्न सकियो रि–साइकल हुन्छ र त्यसले उत्पादन दिन थाल्छ’, अर्थमन्त्री महतले भने, ‘चलायमान अर्थतन्त्रको सकरात्मक संकेतहरू देखिन थालेको छ । वैदेशिक मुद्रा सञ्चिति कम हुन थाल्यो भनेर हामी आत्तियौँ, अलिकति समस्या आयो भने खत्तमै भइहाल्यो भन्ने हाम्रो मानसिकता छ । त्यो नै बहसको केन्द्रविन्दु हुन्छ । सरकारमा र नीति निर्माणमा बसेकाहरू प्रभावित भएर निर्णयमा पुगिहाल्छन् ।’
देश श्रीलंकाको बाटोमा गयो भनेर हल्ला चलेकाले राजस्वलगायत अन्य कुरामा प्रभाव परेकाले मौद्रिक नीति पनि कडा पारियो । ‘अर्थतन्त्रमा समस्या आउनुमा अरु कारण पनि छन् । यी सबै कारणले समस्या निम्तिएको हो, हाम्रो आन्तरिक निर्णयले पनि अर्थतन्त्रमा समस्या पारेको थियो’, उनले भने, ‘अब यसलाई सच्याउनु पर्छ ।’
अर्थमन्त्री महतले विदेशी मुद्रा सञ्चिति राम्रो भएको र पर्यटन व्यवसाय पुरानो लयमा फर्किरहेको बताए । यस्तै विश्व बैंकले पनि ऋण प्रवाहमा चासो देखाइरहेको परिवेशमा मौद्रिक नीति खुकुलो हुनेबित्तिकै अर्थतन्त्र सहज हुने उनले बताए ।
यस पटक वित्तीय नीतिअन्तर्गत बजेटरी नीतिमा धेरै सुधार गरेको पनि उनले दाबी गरे । ‘सिस्टममा अस्तव्यस्तता छ, स्रोत सुनिश्चित नभएको, पछि काहीँबाट आइहाल्ला भन्ने नाममा बजेट विनियोजन गरिएको छैन । रकमान्तर ठूलो समस्याका रूपमा देखापरेको छ । भइसकेका कुरालाई सुधार गर्नेतिर होइन, अबका दिनमा कडाइका साथ रोकिनेछ’, उनले भने, ‘हामीले लयमा काम ग¥यौँ भने अर्थतन्त्रले गति लिन्छ । लिने संकेत देखा परिसकेको छ, मूल्यवृद्धिलाई ध्यानमा राखेर मौद्रिक नीति आउनेछ भन्ने मलाई विश्वास छ ।’