मनाङ । फोहोरको मात्रा बढ्दै गएपछि अन्नपूर्ण पदमार्गअन्तर्गतको तिलिचो तालतर्फ आवतजावत गर्ने क्षेत्रमा सरसफाई गरिएको छ । मनाङ ङिस्याङ गाउँपालिका–९, खाङसारका होटेल व्यवसायी, अन्नपूर्ण संरक्षण क्षेत्र संरक्षण व्यवस्थापन समिति खाङसार, सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय हुम्दे र स्थानीयको सक्रियतामा फोहोर सङ्कलन गरिएको हो ।
पर्यटकहरु तालमा आउने जाने क्रममा उनीहरुले फालेका एक सय ५० किलोग्राम फोहोर सङ्कलन गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । कोभिड–१९ को संक्रमणपछि पछिल्लो समय यस पदमार्गमा पर्यटक बढेसँगै फोहोरमैलाको हुने क्रम बढेको उनको भनाइ छ ।
“विदेशीले आफैँ बोकेर फर्किन्छन् भने आन्तरिक पर्यटकले बढी फोहोरजन्य पदार्थ फाल्ने गरेको पाइएको छ”, गौतमले भने, “ताल जाने बाटोमा विभिन्न स्थानमा डम्पिङ साइट बनाइएको छ, तर फोहोरमैला भने यत्रतत्र फालिएको पाइयो ।”
धेरैजसो चाउचाउ, बिस्कुट, चकलेटका खोल र कोकाकोलाको बोतल पदमार्गमा भेटिएको उनले बताए । ती जथाभावी फालिएका फोहोरमैला डम्पिङ साइटमा व्यवस्थापन गरिएको उनले बताए ।
तिलिचो पदमार्गका विभिन्न स्थानमा यत्रतत्र छरिएर रहेका प्लास्टिकजन्य फोहोर संकलन गरिएको पर्यटन व्यवसायी एवं अन्नपूर्ण संरक्षण क्षेत्र संरक्षण व्यवस्थापन समिति खाङसारका सचिव टसी गुरुङले जानकारी दिए ।
“यस पदमार्गमा पर्यटक बढ्दै जाँदा फोहोर पनि बढेको छ, यहाँको फोहोरमैला संकलन गरी व्यवस्थापन गर्दै आएका छौं”, उनले भने । विदेशी र स्वदेशी पर्यटकलाई आकर्षित गर्न अन्नपूर्ण पदमार्गअन्तर्गतको तिलिचो ताल क्षेत्रलाई सधैँ स्वच्छ र सफा राख्नु आवश्यक रहेको अध्यक्ष टसीले बताए ।
तीन दिनसम्म चलेको ‘पदमार्ग सफाइ’ अभियनमार्फत अन्नपूर्ण पदमार्गमा पानी तथा कोकाकोलाका बोतल, चाउचाउ र बिस्कुटका खोल ठूलो मात्रामा भेटिएको थियो । गौतमका अनुसार अन्नपूर्ण पदमार्गअन्तर्गत तिलिचो ताल जाने पदैलमार्गको खाङसारदेखि चार हजार नौ सय १९ मिटर उचाईमा रहेको तिलिचो तालको किनारमा सरसफाई गरिएको छ ।
विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल पदयात्रामा जाने स्वदेशी तथा विदेशी पर्यटकको भिड पछिल्लो समय बढिरहेको छ । प्राकृतिक छटाले भरिएको तिलिचो ताल हिमश्रृङ्ला र निलगिरी हिमालको हिमनदीबाट निर्माण भएको हो ।
यस तालबाट अन्नपूर्ण हिमश्रृङ्खलाको मनोरम दृश्यावलोकन गर्नकै लागि यहाँ पर्यटकको भिड लाग्ने गरको छ । मनाङ पुगेका केही पर्यटक तिलिचो तालमा पुग्ने गरेका छन् । कतिपय पर्यटक तिलिचो ताल अवलोकन गरी फर्किएर खाङ्सार, थोराङला पास हुँदै जोमसोम निस्कने गर्दछन् ।
लमजुङको सदरमुकाम बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङको सदरमुकाम चामे हुँदै थोराङपास गरी मुक्तिनाथको दर्शन, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुग्ने गर्दछन् ।
अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । पदयात्राका लागि उपयुक्त मौसम सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्मको दुई समयलाई मानिन्छ । पदयात्राका सौखिन पर्यटक पाँच हजार चार सय १६ मिटरको थोराङ भञ्ज्याङ कट्दा आफूलाई भाग्यमानी ठान्ने गर्दछन् ।