काठमाडौं । भक्तपुर बहुमुखी क्याम्पसमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । कामना सेवा विकास बैंकले सोमबार क्याम्पसमा कार्यक्रम सञ्चालन गरेको हो ।
व्यवस्थापन संकायका विद्यार्थीलाई सुरक्षित भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरेको जनाइएको छ । उक्त कार्यक्रममा ६० भन्दा बढी सहभागी विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीलाई बैंकका कर्मचारीले वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सतर्कततालगायतका विषयमा साक्षरता प्रदान गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख व्यवसाय अधिकृत हरिप्रसाद लम्साल, जगाती शाखाका प्रमुख सुरजकुमार सरार्फलगायत अन्य कर्मचारी र क्याम्पसको तर्फबाट क्याम्पसका सहायक प्राध्यापक तुलसीराम घेमोसु र अन्य विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।