काठमाडौं । रेमिट्यान्स कारोबारबापतको रकम नेपाली निकायलाई भुक्तानी नगर्ने मलेसियाको म्याक्स मनीसँग कारोबार नगर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीहरूलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले नेपाली इजाजतप्राप्त कम्पनीलाई भुक्तानी गर्नुपर्ने पैसा भुक्तानी नदिएको भन्दै यसअघिको भुक्तानी लिनेबाहेक अन्य कुनै पनि कारोबार गर्न प्रतिबन्ध लगाएको हो । बिहीबार सूचना जारी गरेर म्याक्स मनीसँग तेस्र्रो पक्षमार्फत समेत कारोबार नगर्न भनेको छ ।
म्याक्स मनीसँग कारोबार गर्न प्रतिबन्ध लगाएको यो पहिलो पटक होइन । यसअघि २०७५ मंसिर १२ गते र फागुन २ गतेको परिपत्रमार्फत २०७६ माघ ५ गतेसम्म कारोबार प्रतिबन्ध लगाएको थियो । यसबीचमा म्याक्स मनीले दिनुपर्ने पैसा आंशिकरूपमा भुक्तानी गरेपछि राष्ट्र बैंकले कारोबार फुकुवा गरेको थियो । तर, अहिले फेरि सर्तहरू पालना नगरेको र भुक्तानी नदिएको भन्दै राष्ट्र बैंकले कारोबार प्रतिबन्ध लगाइएको जनाएको छ ।
राष्ट्र बैंकले अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था, विप्रेषण कम्पनी, अन्य इजाजतपत्र प्राप्त निकायहरू, सरोकारवाला व्यक्तिहरू तथा निकायले म्याक्स मनीसँग बाँकी बक्यौता रकम भुक्तानी लिनेबाहेकको कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ । म्याक्स मनीले नेपालीहरूसँग मलेसियामा रकम संकलन गरी मल्टी करिडोरमार्फत नेपाल पठाउने कार्यको लागि तेस्रो पक्षबाट प्रोसेसिङ भएको रकम समेत स्वीकार गर्ने तथा भुक्तानी गर्ने व्यवस्था नहुने गरी विप्रेषण कारोबारको प्रतिबन्ध मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।
मलेसियन कम्पनी म्याक्स मनीले नेपालको हिमालयन बैंकको भगिनी संस्था हिमाल रेमिटको झण्डै १८ करोड रुपैयाँ भुक्तानी गरेको छैन । यसैगरी सिटी एक्सप्रेस प्रालि, आईपे, एनआईसी एसिया बैंैकलाई पनि रेमिट्यान्स कारोबारबापतको बक्यौता रकम भुुक्तानी दिएको छैन । झण्डै चार वर्षअघि नेपाल राष्ट्र बैंककै पहलमा मलेसियाको केन्द्रीय बैंकले पनि म्याक्स मनी र नेपालको बैंकहरूबीचको भुक्तानी विवादको बारे छानबिन सुरु गरेको थियो ।
मलेसियाको रकम स्थानान्तरणसम्बन्धी काम गर्ने व्यावसायिक कम्पनी म्याक्स मनीले नेपालका बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीलाई ६० करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी दिएको छैन । नेपालका आधा दर्जन बैंक तथा वित्तीय संस्थासँग रेमिट्यान्स कारोबारमा सहकार्य गर्ने सम्झौता गरेको म्याक्स मनीका सञ्चालकहरूले नेपाली कामदारमार्फत मलेसियामा रकम संकलन गरे पनि त्यस्तो रकम नेपाल नपठाएर आफैँले चलाउने गरेको छ ।
मलेसियामा कार्यरत नेपाली श्रमिकहरूसँग म्याक्स मनीले ठूलो परिमाणमा रकम उठाउँदै आएको छ । त्यस्तो रकम नेपालका इजाजतप्राप्त संस्थाले तत्काल भुक्तानी पनि दिन्छन् । तर, म्याक्स मनीले सो रकम नेपाल नपठाई आफैँ प्रयोग गर्नेगरेको छ । मलेसियामा उठाएको रेमिट्यान्सको आंशिक रकम मात्रै नेपाल पठाउने गरेको म्याक्स मनीले उल्टै नेपाली बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीबाट पैसा लिनुपर्नेछ भन्दै पत्रकार सम्मेलन गरी विवाद सिर्जना गरेको थियो ।
विवाद उत्पन्न भएपछि हिमालयन बैंकको पहलमा राष्ट्र बैंकले सूक्ष्म अध्ययन गरेको थियो । त्यही अध्ययनकै आधारमा रकम भुक्तानी विवादमा म्याक्स मनी स्वयम् दोेषी देखिएपछि राष्ट्र बैंकले २०७५ सालमा नै म्याक्स मनीसँग कारोबार प्रतिबन्ध गरेको थियो । पछि आंशिक भुक्तानी गरेपछि फुकुवा गरेको अवस्थामा म्याक्स मनीले फेरि पुरानै नियती दोहो-याएको छ । यही कारण राष्ट्र बैंकले म्याक्स मनीसँग कारोबार गर्न २०८० असार २९ गते बिहीबारदेखि पूर्णरूपमा प्रतिबन्ध लगाएको हो ।
मलेसियाको राजधानी क्वालालाम्पुरमा केन्द्रीय कार्यालय रहेको म्याक्स मनीले विगत ३५ वर्षदेखि रकम स्थानान्तरणसम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएको छ । हाल यो कम्पनीले एक सय ९० वटा राष्ट्रहरूमा एक सय प्रकारका विदेशी मुुद्राहरूमा रकम स्थानान्तरण गर्दै आएको छ । म्याक्स मनीको प्रमुुख कार्यकारी अधिकृत अवद हमिदको कार्यशैली नै बदनियतपूर्ण रहेको छ भने म्याक्स मनीबाट अन्य मुलुकका वित्तीय कारोबार गर्ने संस्थाहरू पनि आजित छन् । म्याक्स मनीको नेपाल प्रतिनिधि भने वैदेशिक रोजगार व्यवसायी तिलक रानाभाट हुन् ।