विराटनगर । पूर्वी नेपालको तराई क्षेत्र अविरल वर्षासँगै आएको बाढीले प्रभावित भएको छ । बाढीका कारण धेरै ठाउँमा डुवान भएको छ । भोक्राहानरसिंह गाउँपालिका–८ मा रहेको सिसुवाधरमपुर चौकी सुनसरीको सुनसरी खोलामा आएको बाढीका कारण डुबानमा परेको हो ।
प्रहरीले डुबान भएपछि प्रहरी चौकी छाड्नु परेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले बताए । सुनसरी खोलाको बाढी पसेका कारण प्रहरी चौकीको कम्पाउण्डभित्र ४ फिटसम्म पानी जमेको छ । हरिनगरा गाउँपालिका–५ स्थित सिसुवाधरमपुर आधारभूत विद्यालयमा चौकीबाट विस्थापित बनेका प्रहरीहरु गएर बसिरहेका छन् ।
मोरङको जहदा गाउँपालिका–३ स्थित भाथीगन्जमा बाढीले घर भत्किएपछि ३ परिवार विस्थापित भएको र सिंघिया खोलामा आएको बाढीले घर बगाएपछि तीन परिवार विस्थापित भएको प्रहरी प्रवक्ता रञ्जनकुमार दाहालले बताए । विस्थापित भएकालाई सुरक्षित स्थानमा सारिएको उनले बताए ।
शुक्रबार सबेरैदेखि भइरहेको वर्षाका कारण खोलाहरुमा बाढी आएपछि नदी किनारका बस्तीहरु जोखिमा परेका छन् । मोरङका सिंघिया, केसलीया, बक्राहालगायतका खोलामा बाढी आएपछि नदी किनार क्षेत्रमा सतर्कता अपनाइएको प्रहरीले बताएको छ ।