श्रीनगर, वैशाख १५
भारतको काश्मिर क्षेत्रका बालबालिकालाई रेडियो मार्फत अध्यापन गराइने भएको छ । कोरोनाभाइरसको संक्रमण फैलिन थालेपछि सरकारले लकडाउन गरेकाले उनीहरुलाई रेडियो मार्फत अध्यापन गराउनुपरेको हो । भारतले देशव्यापी लकडाउनको घोषणा गरेदेखि नै भारतका सबैजसो विद्यालय बन्द रहेकाले बालबालिकाहरु अध्ययन कार्यबाट वञ्चित भएका छन् । अत्यधिक धेरै विद्यार्थीहरुमाझ एकैचोटि पुग्ने सजिलो र प्रभावकारी माध्यम नै रेडियो भएकाले रेडियोमार्फत अध्यापन गराउन लागिएको अधिकारीहरुले जनाएका छन् ।
भारतको विद्यालय शिक्षा विभागले अर्को हप्तादेखि रेडियो मार्फत् अध्यापन गराउने तयारी थालिएको जनाएको छ । अधिकारीहरुका अनुसार शिक्षकले अल इन्डीया रेडियो मार्फत् अध्यापन गराउने छन् भने तोकिएको समयका विद्यार्थीहरुले घरमै बसेर पढ्न सक्नेछन् । काश्मिरको विद्यालय शिक्षा निर्देशनालयले यसअघि गत मार्च २६ देखि नै दूरसञ्चार केन्द्रको काश्मिर च्यानल मार्फत् पनि अध्यापन गराउँदै आएको छ ।तर कतिपय विद्यार्थीहरु टेलिभिजनको पहुँचमा नभएकाले उनीहरुलाई समेत हुने गरी रेडियोमार्फत पनि अध्यापन गराउनुपरेको हो । निर्देशनालयले तयार पारेका शैक्षिक सामग्रीहरु रेडियो, टेलिभिजनसँगै युट्युव, निर्देशनालयको वेबसाइटलगायत विभिन्न विद्युतीय माध्यमहरुबाट पनि विद्यार्थीहरुसम्म पु-याउने प्रयास भइरहेको अधिकारीहरुले जनाएका छन् ।
काश्मिरका विद्यालय शिक्षा निर्देशक मोहम्मद युनिस मलिकले लकडाउन जति लम्बिँदै गए पनि विद्यार्थीहरु पठनपाठनबाट पूर्ण रुपमा बञ्चित हुन नपरोस् भनेर पर्याप्त शैक्षिक सामग्रीहरु तयार पारेर विद्यार्थीहरुको पहुँचमा पु-याउन अनेक उपायहरु गरिएको बताए । लकडाउनमा भएका बेला विद्यार्थीहरुले पढ्ने सामग्रीको अभाव नहोस भनेर नै यस्तो व्यवस्था गरिएको उनको भनाइ छ ।
भारतको जम्मु र कश्मिर राज्यमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या ४ सय ९४ पुगेको छ भने तीमध्ये छ जनाको मृत्यु भएको छ । त्यसैगरी अरु १ सय १२ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार कोरोना भाइरसका कारण देशभर मृत्यु हुनेको संख्या ८ सय २५ पुगेको छ । त्यसैगरी कुल संक्रमितको संख्या २६ हजार ४ सय ९६ पुगेको छ । कुल संक्रमितमध्ये २ सय १३ जना पछिल्लो २४ घण्टामा संक्रणको पुष्टि भएका हुन् । (रासस/पीटीआई)