काठमाडौं । सरकारी मापदण्ड अनुसार सामुदायिक विद्यालयमा बाल कक्षादेखि कक्षा पाँचसम्म पढ्ने विद्यार्थीलाई सकेसम्म पोषिलो स्थानीय उत्पादन खुवाउनु पर्छ। विद्यार्थीलाई दिवा खाजामा दैनिक ५० देखि ६० ग्राम अन्न, ४० देखि ५० ग्राम गेडागुडी, ३० देखि ५० ग्राम हरियो सागपात तथा फलफूल र २० देखि ३० ग्रामसम्म पशुजन्य पदार्थ समावेश भएको हुनुपर्छ।
तर रंगेली नगरपालिकाभरीका सामुदायिक तथा सरकारी विद्यालयमा मेयर दिलिप अग्रवाल (बगडिया) को परिवारले सञ्चालन गरेको उद्योगबाट उत्पादित ‘जंक फुड’ दिवा खाजाका रूपमा विद्यार्थीहरुलाई खुवाइरहेका छन् । एक जना विद्यार्थीलाई एक दिनका लागि आवश्यक पर्ने कूल पोषण तत्वको ३० प्रतिशत हिस्सा स्कुलमा दिइने दिउँसोको खाजाबाट आपूर्ति हुनुपर्ने परिकल्पना दिवा खाजा कार्यक्रमको छ।
मेयर अग्रवालको निर्देशनमा विद्यालयहरूले यस्तो खाजा खुवाएको शिक्षकहरू बताउँछन्। ‘विद्यार्थीलाई खाजा खुवाइने यी जंकफूड मेयरको परिवारले चलाएको फ्याक्ट्रीबाट किनेर ल्याइन्छ,’ रंगेलीकै एउटा सामुदायिक विद्यालयका शिक्षकले भने ।
टोलीमा रहेका समन्वय इकाई मोरङका सूचना अधिकारी शिवप्रसाद घिमिरेले अनुगमनका क्रममा ‘विद्यालयमा दालमोठ, चिउरा र भुजिया मिसाएको एउटा प्याकेट र अर्को चिजबलजस्तो प्याकेट खाजामा प्रयोग गरेको भेटिएको’ पुष्टि गरे ।