काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था र कुमारी क्यापिटल लिमिटेडबीच सम्झौता भएको छ । दुवै संस्थाहरूबीच थप सार्वजनिक सेयर निष्काशन गर्ने विषयमा सम्झौता भएको हो । संस्थाले प्रतिकित्ता एक सय रूपैयाँको दरमा ४६ हजार सात सय २९ दशमलव ५४ कित्ता सेयर अर्थात् ८६ लाख ७२ हजार नौ सय ५४ रूपैयाँ बराबरको थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यु) सर्वसाधारणका लागि निष्काशन गर्नका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सम्झौतापत्रमा सूर्योदयका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोक्षप्रसाद पंगेनी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे । संस्थाको अधिकृत पुँजी एक अर्ब, जारी पुँजी ९१ करोड ५४ लाख छ हजार चार सय ६३ र चुक्ता पुँजी ९१ करोड सात लाख ८२ हजार पाँच सय आठ रूपैयाँ रहेको छ । संस्थाले एक लाख ७१ हजारभन्दा बढी सदस्यलाई सेवा दिँदै आएको छ । संस्थाको देशभर एक सय ९२ वटा शाखा कार्यालयहरू सञ्चालनमा छन् ।