काठमाडौं, आफूलाई महाराजगञ्ज सुकेधारा क्षेत्रको डन ठान्ने कमल ढकाल डनगिरी गर्ने व्यक्ति रहेछन् । डनगिरी देखाएर उठैतीपुठौती गर्ने ढकाललाई बाराका फिरोज खानले सुशील शिवाकोटी भन्ने ‘इन्टेरियर डिजाइनर’सँग सम्पर्क गराइदिएछन् । उनीहरूबीच धम्काएर पैसा उठाउन सकिने ठाउँहरूको बारेमा छलफल भएछ । त्यस्तो ठाउँमध्येको एउटा सजिलै पैसा झर्ने ठाउँ भनेर ज्ञानेश्वरमा रहेको ‘एनआरके फिटनेस’लाई छनोट गरेछन् ।
एनआरके फिटनेसमा झण्डै चार वर्षअघि शिवाकोटीले ‘डिजाइन’को काम गरेका रहेछन् । उसले ५१ लाख रुपैयाँको ‘कोटेसन’मा काम गरे पनि काम पूरा नगरी बीचमै हिँडेका रहेछन् । तर, शिवाकोटीले कोटेसनअनुसारको रकम केही चेक त केही नगदै लगिसकेका थिए । अहिले ढकालसँग शिवाकोटीले भेटेपछि ३० लाखभन्दा बढी रकम दाबी गर्ने सहमति बनेपछि उनीहरूले मालीगाउँ वृत्तका डीएसपी अनिश कर्णसँग ‘सेटिङ’ मिलाएछन् ।
शिवाकोटीले प्रहरीमा निवेदन हाल्नुअघि नै डीएसपी कर्णले एनआरकेका नवराज कार्कीलाई चौकीमा बोलाएर तनाब दिन थालेछन् । चौकीमा जाँदा पनि डीएसपी कर्णले आफूले नभेटेर अरुलाई लगाएर बाहिरै सहमति गरेर आउन दबाब दिएछन् । कार्कीका लागि त्यो मान्य कुरो थिएन तर प्रहरी चौकीबाहिर ३०÷४० जना चुल्ठेमुन्द्रे राखेर ढकालले कार्कीलाई दबाब मात्र दिएनन् कि रात परेपछि कार्कीलाई फोन गरेर धम्काउन थालेछन् । एक दिन मात्र होइन रात परेपछि ढकालले बारम्बार त्यसरी फोनबाट धम्की दिएपछि कार्की आफ्नो शान्तिसुरक्षा गराइपाऊँ भनी जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका थिए । सीडीओ कार्यालयले महानगरीय प्रहरी परिसर टेकुमा पठाएको पत्र मालीगाउँमै पठायो, अहिलेसम्म डीएसपी कर्णले पत्र लुकाएर राखेका छन् र शान्ति सुरक्षा माग गर्ने व्यवसायीलाई झन् चौतर्फी दबाब दिएर थप पीडा दिएका छन् ।
ढकालले सुरुको अवस्थामा आफैँले फोन गरेर कार्कीलाई धम्काएका थिए र दिन बित्दै जाँदा ढकालले नयाँ–नयाँ पात्र खडा गरेर कार्कीलाई धम्काउन लगाएका थिए । गत वैशाख ३१ गतेदेखिको सो सिलसिला अहिलेसम्म चलिरहेको छ । ढकालले आफ्ना मानिस पठाएर एनआरके ताला लगाउनेदेखि कार्कीलाई सिध्याउने समेतको धम्की दिन पछि परेका छैनन् ।
आफूलाई एमालेको वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलको खास मानिस बताउने ढकालले कार्कीलाई तर्साएर रकम लिएर शिवाकोटीसँग बाँडेर खाने योजना अप्ठ्यारो पर्दै गएपछि हाल सत्ताधारी समाजवादी मोर्चाको सदस्य रहेको तर जनयुद्धकारी नेकपा माओवादीबाट विद्रोह गरी नेत्रविक्रम चन्द्र विप्लवको नेतृत्वमा पुनर्गठित भएको नेकपाको कथित जनअदालतमा शिवाकोटीलाई कार्कीविरुद्ध उजुरी गर्न लगाएका रहेछन् र विप्लव माओवादीको जनलदालत अधिकारीहरूले कार्कीसँग सोधपुछ पनि गरिसकेका छन् ।
ढकाल र उनका मानिसले फोन गरेर धम्काउँदा केही सीप नलागेपछि विप्लवका कार्यकर्ता लगाएर धम्काउन लगाएका छन् । उठौतीपुठौतीको योजना सफल हुनुभन्दा समस्या बल्झिँदै गएपछि पछिल्लो समय ढकाल विक्षिप्त बन्दै गएका छन् । कार्कीलाई धम्काएर उठौतीपुठौती गरेर बाँडीचुँडी खाने ढकालको योजनाको भण्डाफोर गरी आर्थिक दैनिकले गत असार २८ गते समाचार छापेपछि ढकाल विक्षिप्त हुन पुगेका हुन् । आफूलाई महाराजगञ्ज सुकेधारा क्षेत्रको डन बताउने ढकालले आफ्नो गुण्डागर्दी छोपेर व्यावसायिक लेप लगाउन सुकेधारा निलोपुलमा आक्रिसा र धुम्बाराही पीपलबोट छेउमा सुन पसल खोलेका छन् । अधि खतिवडाको नाममा खोलिएको ती सुन पसलमा अवैधरूपमा नेपाल भित्रिने सुन खासगरी खाडी क्षेत्रबाट मजदुरहरूलाई भरिया बनाएर बाला–सिक्रीका रूपमा भित्र्याइने तस्करीको सुनको प्रयोग हुनेगरेको देखिन्छ । हङकङबाट नेपाल भित्रिएको सय किलो सुन बरामद भएपछि आर्थिक दैनिकका प्रतिनिधिले ढकालको सुन पसलको निरीक्षण गर्दा सम्पर्कस्थलजस्तो मात्रै देखिएको छ ।
आर्थिक प्रतिनिधिले ढकाल पर्दापछाडि बसेर सञ्चालन गरेको पसलको निरीक्षण गरेपछि थप विक्षिप्त बनेका ढकालले कार्कीलाई फोन गरेर विप्लव माओवादीका कार्यकर्तालाई ३० हजार रुपैयाँ दिएर धम्काउन लगाएको स्वीकारेका छन् भने शिवाकोटीलाई उचालेर आफूले यहाँसम्म ल्याएको र यसमा गल्ती भएको भनी अरण्यरोदन प्रदर्शन गर्न थालेका छन् । तर, यी सबै अस्त्र भुत्ते हुँदै गएपछि ढकाल आर्थिक दैनिकका संस्थापक सम्पादक प्रल्हाद रिजाललाई मार्ने धम्की दिन पुगेका छन् ।
बाहिर आवरणमा व्यवसायीजस्तो देखाएर मूलरूपमा गुण्डागर्दी गर्ने ढकालले आफ्नो असली स्वरूप छोप्न आफूलाई खेलाडीको परिचय दिने प्रयास पनि गर्दै आएका छन् । पछिल्लो समय ढकाल मृतप्रायः रहेको मोर्डन पेन्टाथलोन संघको बागमती प्रदेश अध्यक्ष हुनु पनि त्यसैको अर्को कडीको रूपमा हेरिएको छ ।