कैलाली । सुदूरपश्चिम प्रदेश सरकार कमलबहादुर शाहको नेतृत्वमा गठन भएको पाँच महिनाभन्दा वितिसक्दा पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन । स्वास्थ्य उपचार तथा राजनीतिक भेटघाटको क्रममा मुख्यमन्त्री शाह प्रदेश सरकारको बजेट पारित भएपछि एक साता यता काठमाडौँमा छन् । उनी सोमबार धनगढी फर्किने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । धनगढी फर्के लगत्तै मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्लाई पूर्णता दिने बताइएको छ ।
सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याइसके पनि गठबन्धनभित्र भागबण्डा मिलाउन सकेको छैन् । सम्मानजनक भागबण्डा नपाएको भन्दै सत्तारुढ गठबन्धन दल नागरिक उन्मुक्ति पार्टीले हालसम्म सरकारमा सामेल भएको छैन । तर मुख्यमन्त्री निकट स्रोतका अनुसार मुख्यमन्त्री शाह नागरिक उन्मुक्ति पार्टीले माग राख्दै आएको मन्त्रालय सङ्ख्यामा लचक देखिएका छन् ।
अहिले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था मन्त्रीविहीन छन् । ती मन्त्रालयको जिम्मेवारी नाउपालाई दिन मुख्यमन्त्री शाह लचक देखिएको स्रोतको भनाइ छ । नाउपाको संरक्षक रेशम चौधरी भागबण्डाको विषय मुख्यमन्त्रीले टुङ्ग्याउनुपर्ने बताउँछन् । गत असार ५ गते नेपाली कांग्रेसका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि सो मन्त्रालयसमेत मन्त्रीविहीन छ ।