काठमाडौं, वैशाख १७
रोजगार अनुमति प्रणाली (ईपीएस) प्रणालीबाट दक्षिण कोरिया गएर विदामा नेपाल फर्केका नेपालीहरु बिहीबार कोरिया फर्किन पाउने भएका छन् । गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुसहित नयाँ भिसा भएकालाई कोरिया जान दिने निर्णय गरेको थियो ।
वैदेशिक रोजगार विभागले उनीहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार सूचना जारी गर्दै विदामा नेपालमा रहेका व्यक्तिले स्वेच्छाले आफ्नो काममा फर्की जान चाहनेलाई विभागअन्तर्गत रहेको ईपीएस कोरियामा शाखामा सम्पर्क गर्न आग्रह गरेको हो ।
मन्त्रिपरिषद् बैठकले कामदारलाई स्वास्थ्य परीक्षण गराई उनीहरूकै खर्चमा चार्टर्ड उडानमार्फत जान स्वीकृति दिएको थियो । कोरोना महामारीअघि विदा लिएर नेपाल आएका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायी अन्तर्राष्ट्रिय उडान बन्द हुँदा यही अलपत्र परेका थिए । यद्यपि यसबीचमा कोरियाबाट कति नेपाली श्रमिक विदामा नेपाल आएका छन् भन्ने तथ्याङ्क सरकारी अधिकारीसँग छैन ।
गैरअवासीय नेपाली सङ्घ (एनआरएनए)को पहलमा त्यस्ता कामदारको सङ्ख्या सङ्कलन गर्ने काम भइरहेको छ । करिब २ सय ५० कामदार विदामा नेपाल आएको हुनसक्ने अनुमान गरिएको छ । कोरियामा कोभिड–१९ को महामारी विस्तारै कम हुँदै गएपछि त्यहाँका रोजगारदाताले नेपाली कामदारलाई जतिसक्दो चाँडो फर्कन आग्रह गर्दै आएका छन् ।
विशेषगरी लकडाउन हुनुअघि दक्षिण कोरियाबाट छोटो अवधिको विदा लिएर नेपाल पुगेका नेपाली श्रमिक समयमै फर्किन नसक्दा भिसा नै रद्द हुने हो कि भन्ने चिन्ता थपिएको थियो । आफूले काम गरिरहेको कम्पनीले छिटो फर्किन भनिरहने तर लकडाउनका कारण फर्किन नसक्दा नेपालमा रहेका नेपाली श्रमिक चिन्तित थिए ।
उनीहरूलाई नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया फर्काउने तयारी गरिएको छ । सङ्घ र नेपाल एयरलायन्सबीच सोमबार चार्टर्ड उडानसम्बन्धी सम्झौता भएको छ । पहिलो चरणमा अप्रिल ३० तारिखमा फ्लाइट गर्ने तयारी भइरहेको छ । जसमा भिसा सकिन लागेकालाई प्राथमिकता दिई उडाइनेछ । दक्षिण कोरिया फर्किनेले टिकटबापत एक लाख १३ हजार ७ सय ७५ रुपैयाँ बुधबार अपराह्न २ बजेभित्र बुझाउन सङ्घले आग्रह गरेको छ । कोरिया फर्केपछि अनिवार्य रूपमा १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बस्नुपर्नेछ ।