काठमाडौं । लम्पी स्किन महामारीबाट पशु मरेर प्रभावित किसानलाई सरकारले राहतस्वरूप केही नगद उपलब्ध गराउने भएको छ । किसानलाई राहत दिने विषयमा सरकारमा सहभागी दलहरूबीच सहमति भए पनि कति राहत दिने भन्नेबारेमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई प्रस्ताव पेस गर्न मंगलबारको मन्त्रिपरिषद् बैठकले निर्देशन दिएको छ । उक्त निर्देशनअनुसार कृषि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्नेछ ।
यसैगरी सो रोग लागेका पशु चौपायालाई निःशुल्करूपमा खोप उपलब्ध गराउन आवश्यक प्रक्रियासमेत सुरु गरिने भएको छ । त्यस्तै, पशु चौपायाको बीमालगायतका विषयमा पनि मंगलबारको मन्त्रिपरिषद् बैठकमा छलफल भए पनि सबै निर्णय कृषि मन्त्रालयको प्रस्तावअनुसार गरिनेछ ।
मन्त्रिपरिषद् बैठकले विज्ञापन नियमन गर्ने पहिलो संशोधन नियमावली २०८० स्वीकृत गरेको छ । यस्तैै, दिगो भू–व्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधारको पुनःरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधाबाट प्राप्त हुने करिब २० करोड २२ लाख रूपैयाँबराबरको सहायता स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।