जानकी । शनिबार बढैयाताल गाउँपालिका–२ बर्दियाका खटकराज बुढा दसैँ–तिहारका लागि खर्च जुटाउन भन्दै बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिम्ला जान लागेको बताए ।
साठी वर्ष पार गरिसकेका उनले बर्खे बाली लगाउन घर आउने र लगाइसकेपछि फेरि कमाउन भारतको सिमला जाने गरेको बताए । “परिवार एक्लैले बर्खा खेती लगाउन सक्दैनन् भनेर म लगाउन आउँछु । खेती लगाइसकिएपछि पैसा कमाउनका लागि फेरि भारतको सिमलामै जान्छु”, उहाँले भन्नुभयो, “मिले दसैँ–तिहारमा घर फर्कन्छु, नमिले साथीभाइ आउँदा उहाँहरूसँगै चाडबाड मनाउने पैसा पठाइदिन्छु ।”
नेपालमा जति काम गरे पनि राम्रो पारिश्रमिक नपाउने र पाए पनि ठेकेदारले पैसा नै नदिने उनले गुनासो गरे । उनी विगत ३५ वर्षदेखि खेती लगाउन घर आउने र लगाइसकेपछि फेरि कमाउनका लागि भारत जाने गर्दै आएका छन् । उनले भने, “घरपरिवार छाडेर अर्काको देशमा काम गर्न जाने रहर त मलाई पनि कहाँ छ र ? तर के गर्नु गुजाराका लागि पनि जानैपर्ने बाध्यता छ ।”
उनीझैँ सुर्खेत मेलकुनाका हरि ओली पनि असारे खेतीबाली लगाएर परिवारको छाक टार्न भारतमा मजदुरीका लागि जाँने गरेका छन् । घरमा स्कुल पढ्ने छोराछोरी छन् । पढाउनलाई र दसैँ–तिहारको जोहो गर्न आफू भारत जानुपर्ने बाध्यता भएको उनले बताए । उमेरले ५६ वर्ष पार गरिसकेका ओलीले भारत गएर कमाउन थालेको २२ वर्ष भएको बताए ।
यसैगरी रोजगारीका लागि भारत जाँदै गरेका दैलेखका विनय क्षेत्रीको पनि कथाव्यथा बुढा र ओलीको जस्तै छ । उनी पनि बर्खे खेती लगाउनका लागि घर आएको र खेती लगाएर दसैँ–तिहारको जोहो गर्न भारतको सिमला जान लाग्दै गर्दा जमुनाहनाकामा भेटिए । उमेरले ४८ वर्ष लागेका क्षेत्रीले नेपालमा रोजगारीको अभावसँगै स्वरोजगारका लागि सीप र लागतको पनि अभावले आफू बर्षैँपिच्छे भारत जानुपरेको बताए ।
भारतमा त जस्तो भन्यो त्यस्तै काम पाइन्छ अनि दाम पनि । त्यसैले मजदुरी गर्न भारतको सिमला जान लागेको हुँ, उनले भने । असारे खेतीबाली लगाएर रोजगारीको सिलसिलामा दैनिक भारत जाने नेपालीको सङ्ख्या योपटक भने दुई सयभन्दा बढी भएको सीमानाका जमुनाहले जनाएको छ ।