काठमाडौ । नेपाल राष्ट्र बैंकले पाँच अर्ब ८४ करोड रुपैयाँको विकास ऋणपत्र निष्काशन गरेको छ । सरकारका लागि आवश्यक रकम जुटाउन राष्ट्र बैंकले छ वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्न लागेको हो । ‘विकास ऋणपत्र २०८६ ‘ट’ (६ वर्षे)’ नाम दिइएको ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले खरिद गर्न पाउनेछन् ।
बिहीबार बोलपत्र हुने ऋणपत्र २०८० भदौ १ देखि जारी भई २०८६ भदौ १ गते परिपक्व हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्नेछ । यस्तै यो ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइने राष्ट्र बैंकले जनाएको छ ।
ऋणपत्रमा लगानी गर्न इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रूपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरूलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् चार अर्ब ९६ करोड ४० लाख रुपैयाँ र ८७ करोड ६० लाख रुपैयाँ छुट्याएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुनआउने रकम प्रतिस्पर्धी बोलवालाहरूलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । अप्रतिस्पर्धी बोलवालाहरूलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुनआएमा बोलवालाहरूलाई समानुपातिकरूपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिनेछ ।
ऋणपत्र खरिद गर्न इच्छुकले कम्तीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म आवेदन दिन सकिनेछ । राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले अप्रतिस्पर्र्धीका रूपमा भाग लिन पाउने छैनन् । व्यक्ति वा अन्य इच्छुक संस्थाले भने प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रूपमा मात्र भाग लिन सक्नेछन् ।
राष्ट्र बैंकले यसअघि साउन २८ गते आठ वर्ष अवधिको १० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र बिक्री गरेको थियो । त्यसअघि साउन १८ गत पनि राष्ट्र बैंकले छ वर्ष अवधिको १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गरेको थियो ।
चालू आर्थिक वर्ष राष्ट्र बैंकले सरकारका लागि कुल दुुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनेछ । राष्ट्र बंैकले अल्पकालीन तथा दीर्घकालीन अवधिका टे«जरी बिलहरू, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्रलगायतका मौद्रिक उपकरणहरू बिक्री गर्ने तयारी गरेको छ । यसरी बिक्री गरिने कुल मौद्रिक उपकरणमध्येमा ७४ दशमलव छ प्रतिशत हिस्सा ऋणपत्रको रहेको छ । सोअनुसार २०८१ सम्म एक खर्ब ७९ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र बिक्री हुनेछ । सो जसमध्ये पहिलो त्रैमासमा ५० अर्ब, दोस्रो त्रैमासमा ४५ अर्ब, तेस्रो त्रैमासमा ३५ अर्ब र चौथौ त्रैमासमा ४९ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।