काठमाडौं, वैशाख १९
सम्पत्ति शुद्धीकरण विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत लगिएपछि पहिलोपटक ‘हाई प्रोफाइल’ व्यवसायी पक्राउ परेका छन् । पहिलो ‘हाई प्रोफाइल’ व्यवसायीमा सुलभ अग्रवाल परेका छन् । सम्पत्ति शुद्धीकरण विभागले कुनै पनि व्यक्तिमाथि पहिला केही अनुसन्धान गरेपछि मात्र कारबाहीका लागि पक्राउ गर्ने गरेको छ ।
केही महिनाअगाडि पत्रकारलाई सम्पत्ति शुद्धीकरणको विषयमा जानकारी दिन गरिएको कार्यक्रममा विभागका अधिकारीहरुले कुनै पनि व्यक्ति तथा संस्थाको बारेमा सम्पत्ति शुद्धीकरण गरेको भन्ने उजुरी परेपछि वा विभागले आफ्नो तरिकाले अनुसन्धान गरेपछि मात्र बोलाइन्छ ।सम्पत्ति शुद्धीकरण विभागले हजारौं व्यक्ति तथा संस्थामाथि सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धान गरिरहेको छ । पछिल्लो समयमा विभागमा उजुरीको चाप पनि बढेको छ । पहिला विभाग अर्थ मन्त्रालय मातहत रहँदा कारबाही नै सुरु भएको थिएन । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत विभागलाई ल्याइएपछि काम गर्ने कर्मचारीको मनोबल बढेको छ ।
ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको अभियोगमा पक्राउ परेका अग्रवाल अदालतको आदेशअनुसार धरौटी रकम बुझाएर छुटेलगत्तै बिहीबार सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा पक्राउ परेका हुन् । अग्रवाल पक्राउ पर्नुले उनीमाथि धेरै पहिलादेखि अनुसन्धान भइरहेको पुष्टि भएको छ ।
थर्मल गनको कालोबजारी सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले अग्रवाललाई २५ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको थियो । माग गरेअनुसार रकम बुझाएर छुटेलगत्तै उनलाई प्रहरीले सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा पक्राउ गरिएको हो । प्रहरीले पक्राउ गरे पनि बाँकी काम भने अब विभागले नै गर्ने छ । अग्रवाल पक्राउ परेलगत्तै अब ‘हाई प्रोफाइल’ व्यवसायी, राजनीतिक दलका नेताहरु त्रसित बनेका छन् ।
कोरोना भाइरसको जोखिमको कारण उनलाई सम्पत्ति शुद्धीकरण विभागले धरौटी लिएर तारेखमा छाडेको छ । लकडाउनपछि विभागले उनीमाथि थप अनुसन्धान गर्ने छ । विभागले उनीसँग बिहीबार बयान पनि लिएको थियो ।