काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडको वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्काशन गरिएको प्राथमिक सेयर बाँडफाँट भएको छ । एनआईसी एसिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकमा मिड सोलु हाइड्रोपावर लिमिटेडको जारी पुँजीको १० प्रतिशत अर्थात् सात करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित दरका सात लाख ४८ हजार चार सय कित्ता सेयर बाँडफाँट भएको हो ।
कम्पनीले यही साउन १४ गतेदेखि साउन २८ गतेसम्म उक्त सेयरको निष्काशन तथा बिक्री खुला गरेको थियो । उक्त साधारण सेयर निष्काशनमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट निम्नबमोजिम आवेदन परेको र प्राप्त आवेदनको प्रशोधन गरी सोको बाँडफाँट गरेको कम्पनीको भनाइ छ ।
निष्काशनको समयमा सि—आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट जम्मा ३१ हजार पाँच सय २२ जना आवेदकबाट जम्मा सात लाख चार हजार दुई सय कित्ता सेयर खरिदको लागि आवेदन प्राप्त भएकोमा सोमध्ये सम्बन्धित सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट विभिन्न कारणबाट एक हजार आठ सय ६७ जना आवेदकहरूबाट ५८ हजार छ सय ४० कित्ता सेयर खरिदको लागि प्राप्त आवेदनहरू रद्द गरेपश्चात् बाँकी रहेका जम्मा २९ हजार छ सय ५५ जना आवेदकहरूबाट छ लाख ४५ हजार पाँच सय ६० कित्ता सेयर खरिदको लागि अन्तिम आवेदन प्राप्त भएको भएको थियो । प्राप्त आवेदनहरू रुजु गर्दा सात जना आवेदकबाट दुई सय ६० कित्ता सेयर खरिदको लागि प्राप्त आवेदनहरू रितपूर्वक नदेखिएको हुँदा उक्त आवेदनलाई रद्द गरी रितपूर्वक आवेदन प्राप्त जम्मा २९ हजार छ सय ४१ जना आवेदकहरूबाट छ लाख ४५ हजार तीन सय कित्ता सेयर खरिदको लागि प्राप्त आवेकहरूलाई गोलाप्रथाको माध्यमबाट १० कित्तादेखि तीन हजार कित्तासम्म सेयर खरिद आवेदन गर्ने सात हजार चार सय ८४ जना सफल आवेदनकर्ता छनौट गरी १० कित्ता सेयरको दरले जम्मा ७४ हजार आठ सय ४० कित्ता सेयर निष्काशन तथा बिक्री प्रबन्धक, निष्काशनकर्ता कम्पनी र प्रोफेसनल कम्प्युटर सिस्टम प्रालिका प्रतिनिधिहरूको उपस्थितिमा बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ ।