काठमाडौं, वैशाख १९
प्राइम कमर्सियल बैंकले आफ्नो ५० थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा स्वास्थ्य केन्दहरू्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको लागि ५० थान पीपीई हस्तान्तरण गरेको हो ।
बैंकका अनुसार उक्त सामग्री संघीय संसद्का सभासद जनार्दन शर्मालाई यही वैशाख १७ गते बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई अर्ब तीन करोड छ लाख ७५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको यो मुनाफा गत आवको सोही अवधिको तुुलनामा ३१ दशमलव १९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ५४ करोड ७९ लाख पाँच हजार रूपैयाँ रहेको थियो ।
बैंकले सार्वजनिक गरेको चालू आवको तेस्रो त्रैमासिक अवधिको अपरिस्कृत वित्तीय विवरणअनुसार यस अवधिको बैंकको वितरणयोग्य नाफा भने ६४ करोड १२ लाख १४ हजार रूपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब ७९ लाख ८८ हजार रूपैयाँ रहेको थियो । पछिल्लो पटक राष्ट्रियस्तरको कैलाश विकास बैंकलाई प्राप्ती गरेपश्चात चुक्ता पुँजी १३ अर्ब ९८ करोड ५२ लाख ५० हजार रूपैयाँ पु-याएको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब १४ अर्ब ७३ करोड ३१ लाख ८५ हजार रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब ११ अर्ब १० करोड ४६ लाख पाँच हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा तीन अर्ब ३४ करोड आठ लाख ५८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैकमा शून्य दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा प्रतिसेयर आम्दानी १९ रूपैयाँ ३६ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ भने एक सय ४४ रूपैयाँ ६२ पैसा रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले ७७ अर्ब चार करोड ७४ लाख रूपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ५४ करोड ५४ लाख दुुई हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुई अर्ब ६० करोड १५ लाख ३० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।