काठमाडौं, वैशाख १९
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा ५८ अर्ब रूपैयाँबराबरको तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकका अनुसार खुुला बजार कारोबारमार्फत उक्त परिमाणमा तरलता प्रशोचन गरिएको हो । अघिल्लो वर्षको सोही अवधिमा एक खर्ब ३५ करोड तरलता प्रशोचन गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा रिपोमार्फत एक खर्ब १३ अर्ब ७७ करोड र स्थायी तरलता सुविधामार्फत ६९ अर्ब ५५ करोड गरी कुल एक खर्ब ८३ अर्ब ३२ करोड रूपैयाँ तरलता प्रवाह भएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा रिपोमार्फत २३ अर्ब ५३ करोड र स्थायी तरलता सुविधामार्फत छ अर्ब ७२ करोड गरी कुल ३० अर्ब २५ करोड तरलता प्रवाह भएको थियो । राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुुई अर्ब ५० करोड खुद खरिद गरी दुई खर्ब ८५ अर्ब ८१ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर एक अर्ब ९७ करोड खुद खरिद गरी दुुई खर्ब २५ अर्ब ५६ करोड तरलता प्रवाह गरिएको थियो ।
राष्ट्र बैंकका अनुुसार चालू आवको पछिल्लो आवमा अमेरिकी डलर दुुई अर्ब ७६ करोड बिक्री गरी तीन खर्ब १४ अर्ब ३६ करोड रूपैयाँबराबरको भारतीय रूपैयाँ खरिद गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर दुुई अर्ब ८२ करोड र अन्य परिवत्र्य विदेशी मुद्रा बिक्री गरी तीन खर्ब ४९ अर्र्ब ६४ करोडबराबरको भारतीय रूपैयाँ खरिद गरिएको हो ।
राष्ट्र बैंकका अनुसार उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने उद्देश्यले सहुलियत दरमा प्रदान गरिँदै आएको पुनर्कर्जा २०७६ फागुन मसान्तमा १८ अर्ब ३८ करोड लगानीमा रहेको छ । यसअन्तर्गत साधारण पुनर्कर्जा १५ अर्ब ८३ करोड र निर्यात पुनर्कर्जा एक अर्ब एक करोड उपयोग भएको छ । भूकम्पपीडितलाई आवासीय घर निर्माणको लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनर्कर्जाको बक्यौता २०७६ फागुन मसान्तमा एक अर्ब ५३ करोड रहेको छ । राष्ट्र बैंकका अनुसार हालसम्म यस्तो कर्जा एक हजार पाँच सय ९२ ऋणीले उपयोग गरेका छन् ।