काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत १० वटा समितिका सभापति पदका लागि ११ जना सांसदहरूले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीलगायतका सांसदहरू रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
प्रतिनिधिसभाका १० मध्ये नौवटा समितिको सभापतिमा एकल उम्मेदवारी परेको छ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ । उक्त समिति सभापतिको उम्मेदवारी दिनेमा जनमत पार्टीका अब्दुल खान र रास्वपाका गणेश पराजुली रहेका छन् ।
अर्थ समितिको सभापतिमा कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादव र कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा माओवादीकी विमला सुवेदीले उम्मेदवारी दिएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसकी आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा एमालेका किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेसका रामहरि खतिवडाले उम्मेदवारी दिएका छन् ।
यता पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एसका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेलले उम्मेदवारी दिएका छन् । लेखा समिति प्रतिपक्ष दललाई दिने परम्पराअनुरूप एमालेले पोखरेललाई उम्मेदवारको रूपमा अघि सारेको जनाएको छ । प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि संसदीय समितिका सभापति चयन प्रक्रिया अघि बढाइएको हो । सचिवालयका अनुसार प्रतिनिधिसभाका १० वटै विषयगत समितिका सभापति चयनका लागि सोमबार अपराह्न ३ बजे सम्बन्धित समितिको सभाकक्ष, संसद् सचिवालय सिंहदरबारमा हुने बताइएको छ ।