काठमाडौं । अघिल्लो दिन २० दशमलव ५४ अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार झिनो अंकले उकालो लागेको छ । बजार परिसुचक आज पाँच दशमलव शुन्य नौं अंकले उकालो लागेर एक हजार नौं सय ९८ दशमलव ४८ बिन्दुमा कायम रहेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज एक दशमलव ४५ अंकले उकालो लागेर तीन सय ८३ दशमलव ५६ बिन्दुमा चढेको छ ।
बजार परिसुचक उकालो लागेपनि आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । धितोपत्र बजारमा आज दुई सय ७९ वटा कम्पनीहरुको ३१ हजार पाँच सय ९९ पटक सेयर किनबेच भएको छ । जसबाट ३६ लाख ७० हजार सात सय ३१ कित्ता सेयर खरिद बिक्री भएको छ भने कुल कारोबार रकम ९८ करोड ८६ लाख २८ हजार पाँच सय ६२ रुपैंयाँ पुगेको छ । अघिल्लो दिन यस्तो कारोबार रकम एक अर्ब २६ करोड रुपैंयाँ रहेको थियो ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत, उत्पादनमुलक, लघुवित्त र अन्य सहितका चार वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा सहितका नौं वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।