काठमाडौं । नेपाल उद्योग परिसंघले आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकता दिन प्रस्तावित राजदूतहरूसँग आग्रह गरेको छ । प्रस्तावित राजदूतहरू संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल, थाइल्यान्डका लागि धनबहादुर वली, फ्रान्सका लागि सुधीर भट्टराई र जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदीसंग भएको छलफलमा परिसंघले आर्थिक एजेण्डालाई प्राथमिकतामा राख्न आग्रह गरेको हो ।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक कूटनीतिलाई उच्च प्राथमिकता दिएर नेपालमा भएको लगानीका अवसरहरूका बारेमा विदेशी लगानीकर्ताहरूलाई जानकारी गराउने महत्वपूर्ण माध्यम राजदूत हुनुपर्नेमा जोड दिए । निजी क्षेत्रले व्यवसायिक प्रतिनिधिमण्डलको आदानप्रदान गरिरहेको भएतापनि नेपाल साँच्चिकै लगानी प्रबर्द्धन गर्न खोजिरहेको छ भन्ने सन्देश दिन नेपाली राजदूतावासहरूको समन्वयनमा व्यवसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण तथा अन्तरक्रिया गरिनुपर्ने उनले बताए । अध्यक्ष अग्रवालले लगानी तथा निर्यात प्रबर्द्धन गर्न देश केन्द्रित विशिष्ट आर्थिक रणनीति बनाउनुपर्ने आवश्यकता औल्याए । यसका लागि परिसंघ सहकार्य गर्न तयार रहेको उनको भनाई थियो । कुनै पनि मुलुकसँगको सम्बन्ध राजनीतिक भन्दा आर्थिक सम्बन्ध स्थीर एवं बलियो रहेको विश्वको उदाहरण प्रस्तुत गर्दै उनले व्यवसायका माध्यमबाट देशको ब्राण्डिङमा ध्यान केन्द्रित गर्नुपर्ने बताए ।
परिसंघले उच्च व्यापार घाटा कम गर्न नेपाली वस्तुहरूको प्रबर्द्धन, पर्यटन, सूचना प्रविधि, उद्योग, जलविद्युत, पूर्वाधारमा विदेशी लगानी भित्र्याउने गरी काम गर्नुपर्नेमा जोड दिएको छ । अन्तरक्रियामा प्रस्तावित राजदूतहरूले आर्थिक सम्बन्ध विस्तार, निर्यात प्रबर्द्धनमा नै आफूहरूको ध्यान रहने भन्दै देश केन्द्रित सुझाव दिन परिसंघलाई आग्रह गरेका थिए ।