काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा लुसुक्क नेपाल आएका विवेक देव रोय र पूर्वभारतीय राजदूत रञ्जित रे सोमबार दिउँसो स्वदेश फर्किएका छन् ।
उनीहरु सोमबार दिउँसो नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली फर्किएका हुन् । उनीहरुले सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनको सरकारी निवास बालुवाटारमा भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीलाई भेट्ने विवेक देव रोय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक सल्लाहकार काउन्सिलको सभापति छन् । उनीहरु कहिले कुन बाटो नेपाल आएको थाहा नभए पनि सोमबार फर्किएपछि उनी सुटुक्क नेपाल आएर प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीको सन्देश बुझाएको थाहा भएको छ ।
यसअघि भारतीय प्रधानमन्त्री मोदीले गत साउन २० गते प्रचण्डलाई फोन गरेर केही समयअघि भारत भ्रमणमा जाँदा प्रधानमन्त्री प्रचण्डले मोदीसँग गरेको सहमति कार्यान्वयनका बारेमा ताकेता गरेका थिए ।