काठमाडौं । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच नियमितरूपमा सञ्चालन हुँदै आएको ‘ज्वाइन्ट कम्बाइन्ड एक्सचेञ्ज ट्रेनिङ’को चालीसौँ संस्करण हुने भएको छ । काठमाडौँ उपत्यकामा भदौ २४ गतेदेखि सुरु हुने तालिम आगामी असोज १२ गतेसम्म सञ्चालन हुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
नेपाली सेनाका ३० जना तथा अमेरिकी सेनाका १२ गरी जम्मा ४२ जनाको सहभागिता रहने संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा अनुभव तथा ज्ञान आदानप्रदान हुने बताइएको छ । नेपाली सेना संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, श्रीलंका, मङ्गोलिया, बङ्गलादेश, इजरायललगायत देशहरूका सैन्य सङ्गठनसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रतिआतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकालगायत विषयमा संयुक्त तालिम तथा अभ्यासमा सहभागी हुँदै आएको छ ।
भदौ २४ गतेदेखि हुने अभ्यासमा सहभागिताका लागि संयुक्त राज्य अमेरिकाको सैनिक टुकडी बन्दोबस्तीका सामग्रीसहित बिहीबार अमेरिकी वायुसेनाको विमानद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जनाइएको छ । विमान शुक्रबार नै फिर्ता हुने कार्यक्रम रहेको छ । यसैबीच संयुक्त अधिराज्यमा सञ्चालन हुने प्रतिस्पर्धात्मक एक्ससाइज कम्ब्रेइन पेट्रोलमा सहभागी हुने नेपाली सेनाको १० सदस्यीय टोली आज प्रमुख सेनानी विवेकविक्रम शाहको कमाण्डमा बेलायततर्फ प्रस्थान गरेको पनि निर्देशनालयले जनाएको छ ।