गोदावरी (कैलाली) । करिव रु. २८ करोडको लागतमा निर्माण सम्पन्न भएको कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा निर्माण गरिएको सभाहल प्रयोगविहीन बनेको छ । सो सभागृह सञ्चालन कार्यविधि तथा मापदण्डको अभावमा एक वर्षदेखि अलपत्र परेको हो ।
धनगढी उपमहानगरपालिकाले स्वामित्वमा लिएर सञ्चालन गर्नेगरी निर्माण गरिएको सभागृहमा फर्निचर र ‘साउण्ड सिस्टम’ जडान नगर्दा स्वामित्वमा लिन नसकिएको धनगढी उपमहानगरपालिकाका सहरी विकास तथा प्राविधिक शाखा प्रमुख द्विजराज भट्टले बताए ।
सो सभागृह डेढ बिघा जमिनमा रु २८ करोड ५५ लाखको लगानीमा निर्माण गरिएको जनाइएको छ । सभागृह निर्माण, रङरोगन र विद्युत् जडानलगायतका सम्पूर्ण मुख्य काम २०७९ असारमा सम्पन्न भई निर्माण कम्पनीले सङ्घीय आयोजना कार्यान्वयन इकाइलाई हस्तान्तरण गरिसकेको छ ।
आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर सौरभ कलौनीका अनुसार निर्माण कार्यसम्पन्न भएपछि हस्तान्तरणको तयारीसमेत गरेको अवस्थामा धनगढी उपमहानगरपालिकाले बुझ्न नमानेपछि हस्तान्तरणमा ढिलाइ हुन गएको हो । मन्त्रालयले सञ्चालन कार्यविधि तथा मापदण्ड बनाइरहेकाले फर्निचर र साउण्ड सिस्टमका लागि अर्को ठेक्का गर्नुपर्ने उनले बताए ।
चालु आर्थिक वर्षमा सभागृहमा फर्निचर र साउण्ड सिस्टम जडान गर्न रु. २५ लाख बजेट विनियोजन गरिएको सूचना अधिकारी कलौनीले जानकारी दिए । निर्माण कम्पनीसँग २०७५ माघ २ गते ३० महिनामा निर्माण सम्पन्न हुने गरी सभागृह निर्माणको ठेक्का सम्झौता भएको थियो । कोभिड– १९ का कारण काममा बाधा उत्पन्न भएपनि एक वर्ष म्याद थप गरी २०७९ जेठमा निर्माण सम्पन्न भएको थियो ।