काठमाडौं । सुन तस्करी प्रकरण बाहिर आएपछि विवादित बनेको अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखहरु परिवर्तन भएका छन् । गृह मन्त्रालयले सोमबार ती दुई कार्यालयका प्रमुखसहित केही जिल्लाका प्रमुख जिल्ला अधिकारी पनि परिवर्तन गरेको छ ।
गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङलाई बनाएको छ । विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारी सुन तस्करीमा परेको कुरा बाहिर आएपछि मन्त्रालय तानिएका थिए । तामाङ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए । उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई लगिएको छ ।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको प्रमुखमा गोगनबहादुर हमाललाई लगिएको छ । उनी दैलेखका प्रमुख जिल्ला अधिकारी थिए । अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुबेदीलाई हटाएर हमाललाई ल्याइएको हो । सुवेदीलाई दाङको सीडीओ बनाइएको छ ।
रुपन्देहीका सीडीओ भरतमणि पाण्डेलाई गृहले मन्त्रालय वा अन्तर्गत ल्याएको छ भने गृह मन्त्रालयका सहसचिव गणेश अर्याललाई रुपन्देहीको सीडीओमा सरुवा गरिएको छ । त्यसैगरी मन्त्रालयमा सहसचिव शिवराम गेलाललाई महोत्तरीको सीडीओमा सरुवा गरिएको छ । महोत्तरीका सीडीओ दीपककुमार पहाडीलाई गृह मन्त्रालयमा ल्याइएको छ । त्यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी बागलुङका सीडीओ रोशनी कुमारी श्रेष्ठलाई भक्तपुरको सीडीओ बनाइएको छ ।