काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अस्ट्रेलिया र नेपालका बीचमा सिधा हवाई उडान सञ्चालनमा जोड दिएका छन् । तिमिल्सिनासँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले सोमबार गरेको शिष्टाचार भेटमा उनले दुई देशबीचमा सिधा हवाई उडान सञ्चालन गर्न सकेमा त्यसबाट दुवै देशले लाभ लिन सक्ने बताएका हुन् । नेपाली विद्यार्थीसँगै विभिन्न पेशा र व्यवसायमा संलग्न ठूलो संख्यामा नेपालीहरू अस्ट्रेलियामा रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले सिधा हवाई उडान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
यस्तै, उनले धेरै नेपाली विद्यार्थीको आकर्षक शैक्षिक गन्तव्यको रूपमा अस्टे«लिया पर्न थालेको बताए । नेपाली विद्यार्थीलाई दिइने छात्रवृत्तिको संख्या बढाउन समेत उनले आग्रह गरे । सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमणलगायतका विषयमा छलफल भएको थियो ।
अध्यक्ष तिमिल्सिनाले नेपाल र अस्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै अत्यन्तै सुमधुर र सहयोगात्मक सम्बन्ध रहेको उल्लेख गरे । आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगमा आधारित दुई देशबीच रही आएको मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनहरूमा अझ फराकिलो र गहिरो बन्दै गएको उनको भनाइ थियो ।
राजदूत भोल्कले अस्ट्रेलियामा एक लाख ३० हजारभन्दा बढी नेपालीको बसोबास रहेको बताउँदै क्यानबेरामा बढी बोलिने भाषामा नेपाली भाषा तेस्रो स्थानमा रहेको समेत जानकारी दिइन् । राजदूत भोल्कले नेपाललाई अस्ट्रेलियाले उच्च प्राथमिकतामा राखेको बताउँदै आगामी अक्टोबरमा अस्ट्रेलियाको प्रतिनिधिसभाका सभामुखको नेपाल भ्रमणबारे जानकारी गराएकी थिइन् ।