काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले परिकल्पना गरेको शिक्षा समानता, सामाजिक न्याय, सार्वजनिक, सहज, समान अवसर र व्यावहारिकतामा आधारित रहेको त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति तथा जापानका लागि पूर्व नेपाली राजदूत डा. केदारभक्त माथेमाले बताएका छन् ।
११०औँ बिपी स्मृति दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित बिपी साहित्य सम्मेलनको कार्यक्रममा बुधबार उनले भने, “शिक्षालाई विद्यार्थीले एउटा शैक्षिक तह उत्तीर्ण गर्ने माध्यम, अभिभावकले रोजगार प्राप्त गर्ने साधन, समाजले बौद्धिक र समाजअनूकुलको माध्यमको रुपमा लिने गर्छन । तर एउटा राजनेताले शिक्षालाई समाज बदल्ने साधनको रुपमा लिन्छ । बिपी त्यही राजनेता हुनुहुन्थ्यो ।”
कार्यक्रमको शुरुमा पूर्वउपकूलपति डा. माथेमाले ‘बिपीको समाजवादी परिकल्पनामा शिक्षा’ विषयमा सम्भाषण प्रस्तुत गरेका थिए । शिक्षाविद् डा. माथेमाले नेपाली साहित्यका एक नक्षत्र बिपीको क्षमता कला, संस्कृति, राजनीति, साहित्य र समाजको क्षेत्रमा अतुलनिय योगदान भएको जनाउँदै पूर्वअमेरिकी राष्ट्रपति टमक जेफर्सनसँग बिपीको तुलना गरे ।
नेपालसहित दक्षिण एसियाली मुलुकमा शिक्षामा अधिक व्यापारीकरण हुने गरेको भन्दै डा. माथेमाले नेपालका सन्तानलाई शिक्षाका लागि अभिभावकले जीवनभर कमाएको आम्दानीको ५० प्रतिशतसम्म खर्च गर्ने गरेको उल्लेख गरे । शिक्षाविद् डा. माथेमाले भने, “शिक्षामा अधिक लगानी गर्नु पर्दा स्रोत जुटाउनकै लागि नेपालमा भ्रष्टाचार हुने एउटा कारण हो । बपीले सिर्जनशीलता र नवीन शिक्षाको एवम् सबैका लागि शिक्षा, हस्तक्षेपरहित र स्वातन्त्र शिक्षा संस्थाको कल्पना गर्नुभएको थियो ।”
उनले हाल नेपालका विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप चरम रुपमा रहेको उल्लेख गरे । उपकूलपति र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा भागबण्डा र राजनीतिक हस्तक्षेपले शिक्षा क्षेत्र बिग्रिएको उनले बताए । उनले परीक्षा दिएर उत्तीर्ण हुने र जागिर खानका लागि मात्र शिक्षा प्रदान गर्ने प्रणालीमा सुधारको खाँचो औंल्याए ।