सुबास बस्नेत
दोलखा, वैशाख २४
दोलखाका केही सामुदायिक विद्यालयका विद्यार्थीलाई कोरोना भाइरसको भन्दा पनि लकडाउन खुलेपछि भत्केको विद्यालयमा पढ्न जानुपर्ने बाध्यताले बढी चिन्तित बनाउने गरेको छ । भूकम्प गएको ५ वर्ष बितिसक्दा पनि जिल्लामा अझै दर्जन बढी विद्यालयको पुनर्निर्माण हुन नसकेको छैन । दुई नगरपालिकासहित सात गाउँपालिका रहेको दोलखा जिल्लामा सदरमुकाम आसपासदेखि दुर्गम भेगमा रहेको दर्जनौं विद्यालय भवन अझै निर्माण हुन सकिरहेका छैनन् ।
जिल्लाका करिब साढे एक सयभन्दा बढी विद्यालयको पुनर्निर्माण हुन बाँकी रहेको छ । भूकम्पले क्षति पु¥याएका तीन सय ६५ वटा विद्यालयमध्ये चैत मसान्तसम्म दुई सय २१ वटा विद्यालय भवनको मात्र पुनः निर्माण सम्पन्न भएको छ । केही विद्यालय भवन निर्माणाधीन अवस्थामा रहेका छन् । त्यसैगरी दर्जन बढी विद्यालयले अस्थायीजस्ताका टहरामा विद्यार्थी राखेर पठनपाठन गराउँदै आएको बताएका छन् । हाल कोरोना भाइरस संक्रमण नियन्त्रण रोकथामका लागि सरकारले लकडाउन गरेका कारण पठपाठन बन्द रहे पनि लकडाउन खुलेसँगै सयौं विद्यार्थीहरूको पठनपाठन अस्थायी टहरामा नै हुने निश्चित छ ।
वैतेश्वर गाउँपालिका वडा नम्बर ३ मा रहेको कालिदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक राम्जी घिमिरेले अस्थायी टहरामा पठनपाठन गराउँदा साह्रै समस्या हुने गरेको बताए । वर्षाको बेलामा पानी चुहिने, जाडोमा असाध्यै चिसो र गर्मीमा असाध्यै गर्मी हुँदा पठनपाठनमा समेत असर पुग्ने गरेको उनको भनाइ छ । कालिदेवी आधारभूत सामुदायिक विद्यालय विगत पाँच वर्षदेखि अस्थायी टिनको टहरा पठनपाठन हुँदै आएको छ । स्थानीय सरकार र जिल्ला तहमा पटक–पटक भवन आवश्यक भएको जानकारी गराए पनि अहिलेसम्म कुनै गुनासो सुनुवाई नभएको उनले बताए । उक्त विद्यालयमा अहिले चारवटा अस्थायी टिनका टहरा रहेका छन् ।
जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर १ मा रहेको सदरमुकाम चरीकोटदेखि नजिकको दूरीमा रहेको सुन्द्रावती आधारभूत विद्यालयले जस्ताको टहरामा राखेर विद्यार्थीलाई पठनपाठन गराएको करिब ५ वर्ष बित्यो । भूकम्प गएको पाँच वर्ष बितिसक्दा पनि सदरमुकाम नजिक रहेको यस आधारभूत विद्यालय अझै निर्माण हुन सकेको छैन । विद्यालय व्यवस्थापन समितिले पटक–पटक सरकारी निकायमा भवन माग गरे पनि विद्यालयको भवन निर्माणमा कुनै चासो नदेखाएको जनाएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षाका अनुसार केन्द्रीय आयोजना कार्यान्वयन इकाइ शिक्षाले गत वर्ष नै निर्माण सुरु गर्ने भनिएका केही विद्यालय भवन पनि अझै निर्माण हुन सकेका छैनन् । विद्यार्थी संख्या कम भएका तल्लो तहका विद्यालयको पुनर्निर्माण हुन नसकेको प्राधिकरणले जनाएको छ । भारत र चीन सरकारले शिक्षा विभागमार्फत् भूकम्पअघि नै निर्माण गर्ने जिम्मा लिएका जिल्लाका दर्जन बढी विद्यालयको अझै निर्माण सुरसार हुन नसकेको विद्यालयहरूले जनाएका छन् ।
चिनियाँ सरकारले निर्माण गर्ने भनिएको विद्यालयका लागि निर्माण कम्पनी, कामदार चीनबाटै आउने भनिए पनि नआएको जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा दोलखाले जनाएको छ । कोरोना संक्रमण नियन्त्रण र लकडाउन खुलेसँगै विद्यालय निर्माणको कामले गति लिने प्राधिरकणले जनाएको छ । त्यसैगरी भारतीय राजदूतावासले निर्माण गर्ने भनिएका ग्रामीण भेगका विद्यालयको पनि हालत उस्तै रहेको छ । भारतीय राजदुतावासले दुर्गम भेगमा रहेका विद्यालयको सर्भे गरेर मात्र अलपत्र परेको स्थानीय विद्यालयका शिक्षक र विद्यार्थीको दुखेसो रहेको छ ।