काठमाडौँ । मंगलबारको सङ्घीय संसद प्रतिनिधिसभाको बैठकमा बोल्ने सांसदहरुले उपभोक्ता बजारमा देखिएको मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव, न्यून गुणस्तरलगायतका समस्या समाधानका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद उदय शमशेर जबराले मंगलबारको बैठकमा शून्य समयमा बोल्दै चाडबाडको समयमा उपभोक्ता बजारमा मूल्यवृद्धि देखिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण र नियमनका लागि सरकारले पहल गर्नुपर्ने बताए ।
“पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि सरकारले फिर्ता लिएको त्यो सकारात्मक छ । तर पछिल्लो तीन महिनामा महङ्गी अत्यन्त बढेको छ”, उनले भने, “चाडबाडको समयमा बजारमा गोलभेडा, चिनी, चामलजस्ता उपभोग्यवस्तुमा मूल्यवृद्धि भएको छ । काठमाडौँ उपत्यकालगायतका बजारमा कालोबजारी र कृत्रिम अभावका समस्या देखिएका छन् ।” बजार अनुगमन प्रभावकारी बनाउन उनले संसदमार्फत् सरकारको ध्यानाकर्षण गरे ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको निर्णय फिर्ता गरेर जनतामा राहतको महसुस गराएको सांसद उर्मिला माझीले बताइ । सबै उपभोग्य वस्तुको मूल्य बढेको उल्लेख गर्दै उनले यसको मुख्य कारण कालोबजारी र कमिसनतन्त्र रहेको बताइन् । बजार अनुगमनका लागि उच्चस्तरीय संयन्त्र बनाउपर्ने उनको माग छ ।
चिकित्सकमाथि भइरहेको आक्रमणको निन्दा गर्दै सांसद गगनकुमार थापाले स्वास्थ्य क्षेत्र सुधारका लागि सरकार गम्भीर हुनुपर्ने बताए । आन्दोलनरत चिकित्सक र सरकारबीच सम्झौता भएको २४ घण्टा नबित्दै चिकित्सकमाथि फेरि आक्रमण हुनु निन्दनीय रहेको बताउँदै उनले उनीहरुका जायज माग र स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारले गम्भीर भएर सुधार गर्नुपर्नेमा जोड दिए ।
चिकित्सकमाथि भइरहेको आक्रमण र विभिन्न स्थानमा घरेलु हिंसा भइरहँदा सुरक्षा प्रशासनले प्रभावकारी भूमिका खेल्न नसकेको सांसद किरणकुमार साहले बताए । खाद्य वस्तुको मूल्यवृद्धि, कालोबजारी र मिसावटले उपभोक्ता पीडित हुनुपरेको सांसद गोमा लाभ (सापकोटा)ले बताइन् । अहिले मधेश प्रदेशमा दैनिक आठ घण्टासम्म अघोषित लोडसेडिङ भइरहेको उनको भनाइ छ । मूल्यवृद्धि र कालोबजारी बढिरहँदा पनि अनुगमनको प्रभावकारिता देखिन नसकेको सांसद जुलीकुमारी महतो महासेठले बताइन् ।
सांसद एकनाथ ढकालले प्रतिनिधिसभाको मंगलबारको बैठकमा सिंहदरवार क्षेत्रमा रहेको नेपालको पहिलो संसद भवन जीर्ण अवस्थामा रहेकाले त्यसको पुनःनिर्माणका लागि माग गरे । “सिंहदरबारस्थित नेपालकै पहिलो संसद भवन वर्षौदेखि बेहाल छ । जीर्ण अवस्थामा रहेको एक सय वर्ष पूरानो राणाकालिन भवनको उचित संरक्षण नहुँदा यो भवन भग्नावशेष जस्तै भएको छ । भित्तामा झारपातले जेलिएको छ”, उनले भने, “विसं २०१५ मा पहिलोपटक संसद बैठक बसेको यो भवनलाई पुनःनिर्माण गरेर पुरातात्विक महत्वको भवनका रुपमा संरक्षण गर्नुपर्छ ।” सिंहदरवार क्षेत्रभित्रकै निर्माणाधीन संसद भवन तोकिएको समयभित्र निर्माण सम्पन्न हुन नसकेकोबारे पनि उहाँले संसदमार्फत् सरकारको ध्यानाकर्षण गराए ।
केही समयअघि मुगुको गमगढीमा आगलागीबाट आठ घर नष्ट भएकोमा पीडितलाई राहतका लागि सरकारले पहल गर्नुपर्ने सांसद ऐनबहादुर शाहीले बताए । उपत्यकाभित्रका सडक निकै साँघुरा भएकाले त्यसलाई विस्तार तथा मर्मतसम्भार गर्नुपर्नेमा सांसद गणेश पराजुलीले जोड दिए । उपत्यकाभित्रका बाटो विस्तारलाई जतिसक्दो चाँडो पूर्णता दिनुपर्ने उनको माग छ ।
सांसद गोकुल बाँस्कोटाले अरनिको राजमार्ग निर्माण र विस्तारका काममा ढिलाइ भइरहेको विषय मंगलबारको बैठकमा उठाए । त्यो राजमार्ग विस्तार र निर्माणमा ढिलाइ हुँदा त्यहाँ दुर्घटना बढेको उनको भनाइ छ ।
बाढी र पहिरोका कारण हुम्लाको रिप गाउँ निकै नै जोखिम अवस्थामा रहेकाले स्थानान्तरणका लागि सांसद छिरिङ डम्डुल लामा भोटेले सरकारको ध्यानाकर्षण गराए ।
तराई क्षेत्रका कृषकले धानको समर्थन मूल्य पाउन नसकेको सांसद अशोककुमार चौधरीले बताए । सरकारले धानमा तोकेको समर्थन मूल्य किसानले पाउनुपर्ने र केरा खेतीमा देखिएको रोग नियन्त्रणका लागि पहल हुनुपर्ने उनको भनाइ छ ।
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषय सांसद कालुराम राईले संसदमा उठाए । अर्का सांसद गीता बस्नेतले मुलुकको शान्ति सुरक्षा कमजोर हुँदै गएको र महिलाले असुरक्षित महुुस गरिरहेको धारणा राखिन् ।