बाँके,बाँकेको नेपालगञ्जमा कफ्र्यूका बीच पनि दुई समूहबीच झडप भएपनि नेपाली सेना परिचालन गरिएको छ । हिन्दू र मुस्लिम समुदायबीच बढ्दै गएको विवादपछि साम्प्रदायिक स्थिति थप उत्पन्न हुन नदिन मंगलबार साझँ नेपाली सेना परिचालन गरिएको छ । नेपालगञ्जका बिभिन्न ठाउँमा दुई समूहका बीच ढुंगा हानहान भएपछि प्रहरीले दुई दर्जन भन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो । अहिले ठूलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सञ्चारमाध्यमहरुलाई बताएका छन् ।
स्थानीय प्रशासनले मंगलबार सामाजिक सद्भाव खलबलिने आशंकामा नेपालगञ्ज क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ ।
प्रदर्शन गर्न भेला भएका ठाउँमा हुलहुज्जत गर्न खोज्नेलाई नियन्त्रणमा लिने सिडिओ आचार्यले बताएका छन्।
असोज १४ गते मुस्लिम समुदायलाई लक्षित गरी बाँकेमा ओमकार परिवार हिन्दु समाजका एक जना व्यक्तिले फेसबुकमा लेखेको स्टाटसका कारण नेपालगन्जमा तनाव सिर्जना भएको थियो।
मुस्लिम समुदायका मानिसले स्टाटस लेखेपछि नेपालगञ्जमा विरोध र्याली निकालेका थिए। ओमकार हिन्दु समाजले पनि मंगलबार बिहान विरोध र्याली निकालेको थियो।
सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा, उच्छृंखल गतिविधि र्यालीमा सहभागी व्यक्तिहरूले गरेपछि धार्मिक सद्भाव भड्किन सक्ने भन्दै प्रशासन कार्यालयले कर्फ्यू जारी गरेको छ ।