काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटले गैरकानुनी सम्पत्ति आर्जन गरी विभिन्न कम्पनीको सेयर र जग्गा खरिद, घर निर्माण तथा विभिन्न बैंकमा पैसा जम्मा गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले रानाभाटविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । रानाभाटले भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले छानबिन गरेको थियो ।
अख्तियारका अनुसार रानाभाटले २०४७ साल असार ३० गतेदेखि सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको र २०७९ साल कात्तिक ६ गतेसम्मको आम्दानी तथा खर्चको विश्लेषण गर्दा भ्रष्टाचार गरेको देखिएको हो । रानाभाटले जाँच अवधिको दौरान गरेको खर्च, लगानी तथा सम्पत्ति आर्जनमा तीन करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ ८० पैसाबराबरको सम्पत्तिको स्रोत खुल्न सकेको छैन ।
रानाभाट र उनको परिवारले अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकमबराबरको आफ्नो र परिवारको नाममा विभिन्न कम्पनीको सेयर खरिद, जग्गा खरिद, अध्ययन खर्च, घर निर्माण तथा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा रकम जम्मा गरेको भनेर उजुरी परेको थियो । सोही उजुरीलाई आधार लिएर अख्तियारले छानबिन गरेको थियो ।
रानाभाटले तीन करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ ८० पैसाबराबरको सम्पत्तिको स्रोत खुलाउन नसकेको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको दाबी गरेको छ ।
रानाभाटलाई बिगो तीन करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ ८० पैसा कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ग, दफा ३ र दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगोबमोजिम जरिबाना र कैद सजाय गर्नसमेत माग गरेको छ ।
रानाभाटले जाँच अवधिमा आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिबाट साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम लागत मूल्यमा बिगो जफत÷असुलउपर गरी पाउन पनि मागदाबी लिइएको छ ।
साथै रानाभाटले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरूपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनीरूपमा आर्जन गरेको, श्रीमती राधा रानाभाटसमेतको नाममा जग्गाहरू खरिद, घर निर्माण, सेयर खरिद तथा बैंक खाताहरूमा रकम मौज्दातलगायतमा गरिएका खर्च लागत मूल्यबराबरको भागको सम्पत्ति विगो जफत गर्ने प्रयोजनार्थ मात्र साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम बिगो जफत गर्ने प्रयोजनको लागि राधालाई प्रतिवादी कायम गर्ने साथै प्रतिवादी राधाको नाममा रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिबाट बिगो जफत गरी पाउन मागदाबी लिइएको छ ।