काठमाडौं । नेपाल पुलिस क्लब क्रिकेट टीमका कप्तान दिपेन्द्र सिंह ऐरीलाई प्रहरी सहायक हवल्दार पदमा पदोन्नति गरिएको छ । मित्रराष्ट्र चीनमा सञ्चालन भइरहेको १९औँ एशियन गेम्समा टी–२० क्रिकेटतर्फ विश्व रेकर्ड कायम गर्न सफल भएका ऐरीलाई नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले एक कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट एक तह बढुवा दिने निर्णय भएको उल्लेख गरेका हुन् ।
उनले पदोन्नति भएका दिपेन्द्र सिंह ऐरीलाई अन्तर्राष्ट्रिय खेलमा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरी विश्व कीर्तिमान कायम गर्न समेत सफल भएकोमा बधाई दिँदै सिंगो मुलुक तथा नेपाल प्रहरी संगठनको गरिमा उच्च पार्न निर्वाह गरेको अतुलनीय भूमिका र पुर्याएको योगदानको उच्च मूल्यांकन गरेको बताए । प्रहरी सहायक हवल्दार ऐरीलाई बढुवा गर्ने सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार महानिरीक्षक कुँवरको अध्यक्षतामा बसेको नीति निर्माण समिति(पिसिसि) बैठकको निर्णयमा भनिएको छ, ‘१९औँ एशियन गेम्समा विश्व कीर्तिमान रचि देश र संगठनको प्रतिष्ठा र गौरव अभिवृद्धि गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याएको हुँदा नेपाल किक्रेट टिमका सदस्य प्रहरी जवान दिपेन्द्र सिंह ऐरीलाई विशेष बढुवा प्रदान गरी प्रहरी सहायक हवल्दार पदमा बढुवा गर्ने निर्णय गरिएको छ ।’
दिपेन्द्र सिंह ऐरीले नेपाल प्रहरी संगठन र राष्ट्रको प्रतिनिधित्व गर्दै मित्रराष्ट्र चीनमा सञ्चालन भइरहेको १९औँ एशियन गेम्समा टी–२० क्रिकेट प्रतियोगितामा असोज १० गते भएको मंगोलिया विरुद्धको खेलमा आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्दै ९ बलमा अर्धशतक पूरा गरी विश्व कीर्तिमान कायम गर्न सफल भएका थिए ।