नवलपरासी । गैडाकोटस्थित भृकुटी कागज कारखानाका मजदुरहरुले ३२ करोड रुपैयाँ तलब वापतको भुक्तानी पाउने भएका छन् । २०६७ सालमा बन्द भएको कारखानाका विभिन्न पदका स्थायी दरबन्दीमा कार्यरत तीन सय २८ कर्मचारीले तलब पाएका थिएनन् । धेरैपटकको आन्दोलनपछि कर्मचारीले तलब पाउने भएका हुन् ।
बिहीबार पेपर मिलका प्रतिनिधि रमेश कुमार दाहाल र आधिकारीक ट्रेड यूनियनका मजदुर प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेका छन् । पीडित मजदुरहरुका तर्फबाट अन्दोलनका संयोजक दर्शन सापकोटाले कारखाना व्यवस्थापनसँग लिखित सहमति भएको जानकारी गराए । उनका अनुसार ०६७ सालसम्म कारखाना संचालन हुँदादेखिकै हालसम्मको तलब दिने गरी सहमति भएको छ ।
नेपाल ट्रेड यूनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठका अनुसार त्यहाँ कार्यरत कर्मचारी र मजदुरमध्ये तीन सय २८ कर्मचारीले सम्झौता भएको मितिले एक वर्षभित्र तलब वापतको रकम पाउने भएका छन् । उनले उद्योग बन्द रहेको मितिदेखि तलब भुक्तानी हुने दिनसम्मको बेसिक तलबको आधा दिने सहमति भएको बताए । कर्मचारीले पाउने तलबको १० प्रतिशत ब्याज समेत दिने सहमति भएको छ ।
चीन सरकारको सहयोगमा पूर्वी नवलपरासीको गैंडाकोटमा स्थापना भएको भृकुटी कागज कारखानालाई २०४९ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा गोल्छा अर्गनाइजेशनलाई बिक्री गरिएको थियो । निजिकरणपछि भृकुटी पल्प एण्ड पेपर मिलका नामले गोल्छा अर्गनाइजेशनले संचालन गरेको थियो । अहिले जिर्ण रहेको कारखानाको करिब ४८ बिगाह जग्गा रहेको छ । कारखाना दीवाकार गोल्छाका छोरा हितेस गोल्छाको नाममा रहेको छ ।
२०६७ सालअघि उद्योगमा उत्पादन भएको कागज स्वदेशभित्र खपत हुँदै आएको थियो । नेपालकै सबैभन्दा ठूलो कागज उद्योग भृकुटी कागज कारखाना बन्द हुनुअघि एक हजार पाँच सय कर्मचारी कार्यरत थिए । अस्थायी, करार र ज्यालादारीमा कार्यरत करिब एक हजार दुई सय कर्मचारीले गोल्छा अर्गनाइजेसनको सेवा सुविधा लिएका भएपनि स्थायी तीन सय २८ कर्मचारीको व्यवस्थापन हुन नसक्दा समस्या भएको थियो ।