काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच केन्द्रीय नवीकरणीय ऊर्जा कोषमार्फतको कर्जा नोक्सान ग्यारेन्टीका लागि एकआपसमा सम्झौता सम्पन्न भएको छ ।उक्त समझदारी पत्रमा ग्लोबल आईएमई बैंकका प्रमुखकार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले हस्ताक्षर गरेका हुन् । बंैकले नवीकरणीय ऊर्जा क्षेत्रमा वित्तीय उत्थानका निमित्त दिगो ऊर्जा चुनौती कोष अन्तर्गत सम्झौता गरेको बताइएको छ । यो व्यवस्थाले देशमा नवीकरणीय ऊर्जा वित्तीय उत्थानलाई मापन गर्ने अपेक्षा गरिएको छ ।
कर्जा नोक्सान ग्यारेन्टीले दिगो ऊर्जाका लागि ऋण प्राप्त गर्दा धितोको आवश्यकतालाई पनि सहज बनाउने अपेक्षा गरिएको छ । बैंकले यस्ता किसिमका परियोजनाहरूमा लगानी गर्नुका साथसाथै साना तथा मझौला व्यवसायलाई प्रवर्द्धन गर्न विभिन्न वित्तीय सुविधाहरू प्रदान गर्दै व्यवसाय वृद्धिका लागि सहयोग गर्ने लक्ष्य अनुसार यस सम्झौता अन्तर्गत देशको दूरदराजमा सञ्चालन हुने परियोजनालाई बैंकिङ्ग सुविधा प्रदान गर्नेछ । ग्लोबल आईएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले तीन सय ५० वटा शाखा कार्यालय, तीन सय ६८ वटा एटीएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।