काठमाडौं । नेपाल सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा एउटा संयन्त्र स्थापना गरिएको छ । आज(आइतबार) बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वमा बसेको मन्त्रिपरिषद्को बैठकले इजरायलमा रहेका नेपालीको अवस्था बुझ्न, उद्धार गर्न र समग्र परिस्थितिको मूल्यांकन गरी समन्वय र सहकार्य गर्न संयन्त्र गठन गरेको हो ।
परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको अध्यक्षतामा बैठक बसी परराष्ट्रमन्त्रीको संयोजकत्वमा सबै सरोकारवाल निकाय सम्मिलित एक समन्वय संयन्त्र स्थापना गरिएको जानकारी गराउँदै यस संयन्त्रले घटनाको निरन्तर अनुगमन, वस्तु स्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा आवश्यक निर्णय लिने, समन्वय तथा सहयोगका सम्पूर्ण कार्यहरू गर्ने बताए ।
दक्षिणी इजरायलमा भएको यस भयानक आक्रमणका बारेमा जानकारी आएलगत्तै त्यस क्षेत्रमा रहेका नेपालीहरूको अवस्था बुझ्न र उनीहरूको सुरक्षाको प्रत्याभूति गर्न परराष्ट्र मन्त्रालयले आफ्नो संयन्त्र एवम् सम्पर्क परिचालन गरेको मन्त्री साउदको भनाई छ ।
परराष्ट्र मन्त्रालयले नेपाली राजदूतावासलाई नेपालीको उद्धार गर्न, त्यहाँको वस्तुस्थितिको जानकारी गराई सुरक्षित रूपमा रहन इजरायल सरकारले जारी गरेको सुरक्षा निर्देशन तथा नियम पालना गर्नका लागि नेपालीलाई जानकारी गराउन निर्देशन दिएको छ । साथै, मन्त्री साउदले इजरायलमा रहेका नेपालीको वास्तविक स्थिति पहिचान गर्न, सुरक्षाको प्रबन्ध गर्न, उद्धार तथा सहयोग गर्न आवश्यक समन्वय र सहजिकरणको काम भइरहेको जानकारी गराए ।