काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २५ औँ वार्षिक साधारणसभा बिहीबार होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ । साधारणसभाले बैंकको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८०/८१ को लागि जीपी राजबहाक एन्ड कम्पनी लेखापरीक्षक नियुक्ति गर्ने निर्णय गरेको छ ।
बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुसार सेयरधनीलाई गत आवको मुनाफाबाट एक अर्ब ३६ करोड ४२ लाख एक हजार छ सय ९२ रुपैयाँ (चुक्ता पुँजीको १३ दशमलव ३० प्रतिशत) बोनस सेयर र सात करोड १८ लाख ८९ रुपैयाँ (चुक्ता पुँजीको शून्य दशमलव ७० प्रतिशत) नगद लाभांश (कर प्रयोजनका लागि) गरी जम्मा १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, साधारणसभाले माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने/गाभिनेसम्बन्धी कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ ।
बैंकले गत आर्थिक वर्षमा एक अर्ब ६२ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेर प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८५ पैसा कायम गरेको थियो । हाल बंैकको चुक्ता पुँजी १० अर्ब २५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा दुई अर्ब ६९ करोड रुपैयाँ सञ्चित रहेको छ । साधारणसभामा बैंकका अध्यक्ष डा उपेन्द्र महतोले देशको आर्थिक स्थितिलाई मजबुत बनाउन बैंकको तर्फबाट यथाशक्य योगदान पु¥याउने उद्देश्यका साथ सन्तुलितरूपमा निक्षेप तथा कर्जा लगानीलाई वृद्धि गरी कर्जाको गुणस्तरमा सुधार गर्दै कृषि, नवीकरणीय ऊर्जा, साना तथा मझौला उद्योगलगायतका क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने कार्यलाई प्राथमिकतामा राख्दै सेयरधनीलाई समेत उचित प्रतिफल प्रदान गर्ने रणनीतिमा बैंक सदैव लागि परेको जानकारी गराए । डा. महतोले नेपाल राष्ट्र बैंकले अवलम्बन गरेको नीतिअनुरूप बैंकले मर्जरका लागि प्रयत्न गरिरहेको जानकारी गराउँदै बैंक सधैँ अर्थपूर्ण मर्जरका लागि सकारात्मक रही सोहीबमोजिम छलफलहरू समेत गर्दै आइरहेको जानकारी गराए । उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरू मुकुन्द महत र जयमुकुन्द खनालले आ–आफ्नो मन्तव्य राख्दै बैंकले आफ्नो आन्तरिक तथा बाह्य लेखापरीक्षण कार्यलाई नियमित बनाई बैंकको वित्तीय अवस्थालाई थप पारदर्शी बनाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिने कार्यमा सञ्चालक समितिको साथ रहिरहने कुरामा विश्वासका साथ प्रतिबद्धता समेत व्यक्त गरे ।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ बैंकले देशका सातवटै प्रदेशमा एक सय ६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, एक सय ३० शाखारहित बैंकिङ सेवा, दुई सय दुईवटा एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।