प्यूठान । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा व्यक्ति र राष्ट्रकै सुरक्षासित जोडिएकाले ‘साइबर’ सुरक्षा सरकारको प्राथमिकता रहेको बताएकी छिन् ।
शुक्रबार प्युठानमा आयोजना गरिएको साइबर अपराधसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री शर्माले सबै विद्यालय, विश्वविद्यालयमा साइबर शिक्षा अनिवार्य लागू गराउनुपर्ने बताएकी हुन्।
‘साइबर स्पेस’लाई सुरक्षित बनाउन राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरिएको उल्लेख गर्दै मन्त्री शर्माले नीतिकै आधारमा साइबर सुरक्षा ऐनको विधेयक मस्यौदा गर्न सुरु गरिएको बताइन् । उनले चाँडै राष्ट्रिय साइबर सुरक्षा केन्द्र पनि स्थापना गरिने जानकारी दिइन् ।
मन्त्री शर्माले यसलाई बृहत् सामाजिक अभियानकै रुपमा गाउँगाउँमा लैजानुपर्ने बताइन् । साइबर अपराधको निशानामा सबैभन्दा बढी किशोरकिशोरी परेकाले साइबर सचेतना अभियान पनि कक्षा ११ र १२ का विद्यार्थीमा केन्द्रित गर्नुपर्ने मन्त्री शर्माको भनाइ छ ।
उनले गत वर्ष मात्रै सूचना प्रविधिको सेवा निर्यात गरेर ६८ अर्ब वैदेशिक मुद्रा भित्रिएको घटनाले सरकारलाई यससम्बन्धी नीति कार्यक्रम बनाउन उत्साहित गरेको स्पष्ट पारिन् ।
मन्त्री शर्माले कक्षा १२ उत्तीर्ण युवालाई लक्षित गरी अल्पकालीन तालिम सञ्चालन गर्ने कार्यक्रम बनाइएको जानकारी दिइन् । उनले भनिन्, “सूचना प्रविधिको दक्ष जनशक्ति विकास हुँदै गयो भने नेपाललाई युवा होइन, सेवा निर्यात गर्ने देशका रुपमा स्थापित गर्न सकिने छ ।”
सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठ, नेपाल टेलिभिजनका चिन्तामणि बराल, राप्ती इन्जिनियरिङ कलेजका अध्यक्ष डा. शैलेन्द्र गिरी र नेपाल टेलिकमका इन्जिनियर आशिष ज्ञवालीले राप्ती इन्जिनियरिङ कलेजका प्रबन्ध निर्देशक डा भीमसेन गिरीको अध्यक्षतामा भएको सम्मेलनमा कार्यपत्र प्रस्तुत गरेका थिए ।