भारत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०३६ को ग्रीष्मकालीन ओलम्पिक आयोजनाका लागि आफ्नो देशले दाबेदारी पेस गर्ने र ओलम्पिक आयोजना गर्ने चौथो एसियाली राष्ट्र बन्ने बताएका छन् ।
विश्वकै सबैभन्दा बढी जनसंख्या भएको भारतले यसै साता अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)को कार्यकारी बोर्डको बैठक आयोजना गर्दै छ, जसले सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिक खेलमा भारतको सबैभन्दा लोकप्रिय खेल क्रिकेटलाई समावेश गर्ने निर्णय गरिसकेको छ ।
मोदीले आफ्नो सरकारका सदस्यहरूको महिनौँको संकेतपछि बैठकको औपचारिक उद्घाटन गर्दै यो भारतका एक अर्ब ४० करोड जनताको ‘सपना र आकांक्षा’ भएको बताएका थिए ।
‘सन्् २०३६ को ओलम्पिक आयोजनाका लागि भारतले कुनै कसर बाँकी राख्ने छैन,’ उनले भने । प्रधानमन्त्री मोदीले ओलम्पिक आयोजनाका लागि कुन सहरले आवेदन दिने भन्नेबारे भने केही बताएनन् ।
तर सञ्चारमाध्यमका अनुसार उनको गृहराज्य गुजरातको राजधानी अहमदावादले खेल आयोजनाका लागि आवेदन दिने सम्भावना सबैभन्दा बढी छ । रासस